सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं-  सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । आजदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।

विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधको भाडा बढाएको हो । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ ।

यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

सरोकारवाला पक्षसँगको परामर्शमा पनि यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायत सूचकहरूमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा बढाउनुपर्ने देखिएको विभागको भनाइ छ । यस अघि, सरकारले ०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो ।

Loading...