चट्याङ लागेर चार जना घाइते

दार्चुला । बैतडीका विभिन्न ठाउँमा चट्याङले लागेर चार जना घाइते भएका छन् । चट्याङले लागेर ६ वटा पशुचौपाया मरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शिवनाथ गाउँपालिका–२ पोखरामा चट्याङ लागेर चार जना घाइते भएका हुन् । शनिबार बिहान ११ बजेतिर स्थानीय गोपाल दमाईको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३५ वर्षीया पवानी दमाइ, बुहारी २० वर्षीया कविता दमाई, १३ वर्षीय छोरा लोक दमाई र ११ वर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका छन् ।

घाइते चारै जनाको पाटनस्थित डीएस पोलिक्लिनिकमा उपचार भइरहेको बैतडी प्रहरीका प्रवक्ता बलराम पाण्डेयले बताए । उनका अनुसार चट्याङ लागेर गोपाल दमाईकै एक गोरु पनि मरेको छ । यस्तै, चट्याङले सुर्नया गाउँपालिका–६ स्थित धुलिधार गाउँमा ५ ओटा पशुचौपाया मरेका छन् ।

बिजुलीको तारमा परेको चट्याङ लागेर स्थानीय हरिदत्त अवस्थीको एक बाख्रो, भागरथी अवस्थीको एक बाख्रो, पदमराज अवस्थीको एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु र दामोदर अवस्थीको एक रागो मरेका प्रहरीले जनाएको छ ।

 

 

Loading...