

धनगढी- सुदूरपश्चिममा वित्तीय अपराध बढ्न थालेको छ । यही अपराध अन्तर्गत कञ्चनपुरका ४० वर्षीय विशाल कुमार चौधरी बुधवार पक्राउ नै परेका छन् ।


५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत बाँकेबाट पनि सोही बराबरकै बिगोमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । दुवै गरी एक करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार दोषी चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।




प्रहरीले बैंकिङ कसुरको मुद्दामा दिनदिनै जसो प्रतिवादीहरूलाई पक्राउ गर्न थालेको छ । प्रहरी अधिकारीहरूका अनुसार पछिल्लो समय बैंकिङ कसुरका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । बैंकिङ कसुर सम्बन्धी घटना सबै भन्दा धेरै कैलाली र कञ्चनपुरको प्रहरी कार्यालयमा दर्ता हुने गरेको छ ।
बैंकको निक्षेप जथाभावी अपचल गर्ने र बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा बैंकिङ कसुर मान्ने गरिएको छ । अपचलन तथा निक्षेप कम भए पनि जानीजानी चेक काट्ने र अरुलाई छल्ने प्रवृत्ति बढ्दा प्रहरीमा मुद्दाको चाङ लाग्न थालेको छ ।
त्यस्ता मुद्दा हेर्न प्रहरीलाई सकस समेत पर्ने गरेको छ । पछिल्लो समय बैंकिङ कसुरका मुद्दा बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा यस्ता ८७ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।
पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंकिङ कसुर सम्बन्धी मुद्दा समेत उच्च दरमा बढ्न थालेको छ । चेक नसाटिने घटना बढेपछि बैंकिङ कसुरसम्बन्धी मुद्दाको संख्यासँगै बिगो रकमसमेत बढ्न थालेको छ ।

