कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते

कञ्चनपुर- कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

पुनर्वास नगरपालिका वडा नम्बर १० स्थित मधु सामुदायिक बन क्षेत्रमा हेरालुका रूपमा कार्यरत अन्दाजी ६० वर्षीय परी बिष्ट मंगलबार साँझ जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका हुन् ।

उनको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको कुण्डा सबडिभिजन बन कार्यालय पच्कडियाका प्रमुख बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।

बनमै हेरालुको काम गरिरहेको बेला एक्कासि हात्तीले आक्रमण गरी घाइते हुनु भएका बिष्टको छातीमा चोट लागेको बताइएको छ ।

अहिले जङ्गली हात्तीको बथान लालझाडी बन क्षेत्रमै रहेकाले लालझाडी र पुनर्वासका नागरिकहरूलाई सचेत रहन कुण्डा सबडिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।

Loading...