गोदावरीमा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
विकासकाे निमित्त सबै क्षेत्रबाट हातेमालो हुन आवश्यक छ : नगर प्रमुख भट्ट





अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा आज (मंगलबार) देखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । १५ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गोदावरी नगरपालिका वडा नं. ७ हरैयामा रहेको दुर्गा भवानी माध्यमिक बिद्यालयमा सुरु भएको हो ।


प्रतियोगिताको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । मंसिर २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष ४५ विद्यालयका २२ सय बढी विद्यार्थी सहभागि भएका छन ।


जसमा २२ वटा सामुदायिक र २३ वटा संस्थागत विद्यालय रहेका छन । प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने छन भने एथलेटिक्सका खेल स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने छ ।
प्रतियोगितामा पहिलो हुने विद्यालयलाई २० हजार दोस्रो हुने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार नगद पुरस्कार पनि दिईन आयोजक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।


विकासकाे निमित्त सबै क्षेत्रबाट हातेमालो हुन आवश्यक छ : नगर प्रमुख भट्ट
कैलालीको गोदावरी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बाेल्नु हुँदै नगर प्रमुख विरेन्द्र भट्टले प्रतियोगितामा एक अर्कालाई सहयोग गरेर निष्पक्षताका साथ खेलाईने विश्वास रहेको बताए । शान्तिपूर्ण रुपमा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न हुने विश्वास रहेको नगर प्रमुख भट्टले बताए ।
नागरिकहरुको जीवन संग प्रत्यक्ष जोडिएको शिक्षा, स्वास्थ्यलाई नगरले पहिलो प्राथमिकता दिएर अगाडि बढेको उनले बताए । उनले भने, ‘शिक्षा सबैको भविष्य हो । हामीले शिक्षा नै आर्जन गर्न सकेनौँ भने हाम्रो जीवन सफलताका साथ अगाडि बढ्न पाउदैन तसर्थ नगरले शिक्षाको क्षेत्रमा गरेको प्रयासमा हामी सफल भएको छौँ ।’ उनले शिक्षा क्षेत्रमा सुधारका निम्ति धेरै विद्यार्थी भएको विद्यालयमा शिक्षकको कमी रहेको र धेरै शिक्षक भएको विद्यालयमा विद्यार्थीको कमी रहेको कारण असहजता नहोस् भन्ने उद्देश्यका साथ बालविकास सोही विद्यालय रहने गरी विद्यालयको समायोजन गरेको बताए ।
समग्र क्षेत्रको विकासको निमित्त जन निर्वाचित प्रतिनिधिले मात्र केही पनि गर्न नसक्ने साथै यसमा सबै क्षेत्रबाट हातेमालो हुन आवश्यक रहेको बताए । ‘यदि वास्तवमा समाजको रूपान्तरण गर्ने हो । यसमा एक अर्कालाई सकारात्मक सोचले बुझ्न जरुरी छ र स्वास्थ्य शिक्षा लगायत विकासको कार्यमा सहकार्य आवश्यक रहेको बताए । कुन विद्यालयको क्षेत्रमा कुन तहको शिक्षक कुन विद्यालयमा आवश्यक पर्छ यसमा गोदावरी नगरपालिका लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् ।
त्यस्तै नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक शिवराज भट्टराईले नगरका २२ सामुदायीक र संस्थागत २३ गरी ४५ विद्यालयले सहभागी रहेको साथै प्रतियोगीतामा ३३ वटा खेलमा प्रतिस्पर्धा गराइ रहेको बताए । विद्यालय २ हजार ३ सय भन्दा बढी खेलाडीहरुले सहभागी रहेका र प्रतियोगिताको खेल विधामा हरेक खेलमा १/१ संयोजक समेत रहेको संयोजक भट्टराईले बताए ।
यहि मंसिर २१ गते सम्म संचालन हुने रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेलमा खेलाडीहरूलाई सहभागी गरिएको छ ।
त्यस्तै प्रत्येक विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिका लागि १ लाखको स्वास्थ्य बिमा साथै हेल्थ डेस्कको पनि व्यवस्था रहेको छ ।



