अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–९ को कार्यालयमा चार दिनदेखि ताला बन्दी जारी रहेको छ । स्थानीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै वडा कार्यालयमा ताला लगाइएको हो ।
धनगढी–सेहरी सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै गोदावरी नगरपालिका–९ सेहरीका स्थानीय आन्दोलित छन् । उनीहरूले सङ्घर्ष समिति गठन गरेर वडा कार्यालयमा ताला लगाएका हुन् ।
सङ्घर्ष समितिले गोदावरी नगरपालिका–९ का वडाध्यक्ष रामलाल रानालाई असोज ७ गते ज्ञापनपत्र बुझाएको थियो । वडाध्यक्ष रानाको गोदावरी नगरपालिका र प्रदेश सरकारसम्म पहुँच नभएकाले वडामा योजना नआएका उनीहरूको आरोप छ । धनगढी–सेहरी–मुर्कटी सडकमा ग्राभेलसमेत नगरेको भन्दै उनीहरूले गोदावरी नगरपालिकाको कार्यालय घेराउ गरेका थिए । नगरपालिकामा भएको छलफल निष्कर्ष विहीन भएपछि चार दिनदेखि वडा कार्यालयको काम प्रभावित भएको छ ।
गोदावरी–९ का स्थानीयको कृषि उत्पादनको बिक्री, रोजगार तथा काम गर्न, औषधी–उपचारका लागि धनगढी आउनु पर्ने हुन्छ। तर, सडकमा खाल्डै खाल्डा रहेकाले समस्या हुने गरेको स्थानीय गगन साउँदले बताए ।
गोदावरी नगरपालिका–९ का गर्भवती महिला र धनगढी कामको लागि आउने महिलाहरूलाई बढी सास्ती रहेको छ । उनीहरूले वडा कार्यालयसम्म आउन समेत सडकको समस्या रहेको बताएका छन् ।