प्रतिपक्षको विरोधका बाबजुद सुदूरपश्चिममा साढे ३१ अर्बकाे बजेट प्रस्तुत

चालुतर्फ १२ अर्ब ८५ करोड बढी र र पूँजीगत तर्फ १८ अर्ब ७६ करोड बढी बजेट प्रस्तुत

Dadeldhura hospital

अत्तरिया- प्रतिपक्षको चर्को विरोधका बाबजुद सुदूरपश्चिममा दोस्रो पटक बजेट प्रस्तुत भएको छ । पहिलो पटक अथवा असार १ गते दीर्घबहादुर सोडारी नेतृत्वको सरकारका पालामा तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले प्रस्तुत गरेको बजेट पास हुन सकेको थिएन ।
उक्त बजेट पास नभएपनि साउन १ गतेदेखि प्रदेशमा बजेट सुन्यताको अवस्था आएको थियो । सोमबार कमल बहादुर शाह नेतृत्वको सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापाले ३ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गरेका छन । चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ४ हजार र पूँजीगत तर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजारको बजेट प्रस्तुत गरिएको हो ।
तर प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने काँग्रेस एमालेको सरकारले संविधान विपरित नयाँ बजेट ल्याउन लागेको आरोप लगाउदै संसद बहिष्कार गरेका थिए । ‘यो सरकारले संविधान विपरित बजेट ल्याएको छ । कुनै कानूनमा पनि दोस्रो पटक पूर्ण बजेट ल्याउने प्रावधान छैन, त्यसैले विधिको शासनका लागि हामीले विरोध गरेका हौँ’ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले भने ।
प्रतिपक्षमा रहेका दलहरू बाहिरिएपछि कार्यतालिका अनुसार संसद अगाडि बढेको थियो । सोमबार प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट बक्तब्य सँग सम्बन्धित विनियोजन विधेयक २०८१ र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ फिर्ता लिने र आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) परिवर्तित र परिमार्जन गरी सभामा प्रस्तुत गर्ने कार्यतालिका थियो ।
सदनको कारवाही प्रारम्भ हुने बित्तिकै माओवादी र समाजवादीका प्रदेश सभा सदस्यहरूले उभिएर विरोध गरेका थिए । सभामुख भीम बहादुर भण्डारीले आफ्ना कुरा राख्न अनुमति दिएपछि पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य अक्कल रावलले वर्तमान सरकारले संविधान र ऐन कानून मिचेर नयाँ बजेट ल्याएकाले विरोध गरेको बताएका थिए ।

Loading...