

कञ्चनपुर- कञ्चनपुरको गड्डाचौकी नाकामा हेल्थ डेस्क छ । जाँचका लागि स्वास्थ्यकर्मी खटिएका छन् । भारतबाट आउने मानिस हेल्थ डेस्कमा पुगेर जाँचपछि नाका प्रवेश पाउँछन् ।


गड्डाचौकी नाकाको हेल्थ डेस्कमा अहिले कोरोना, डेंगी, एचआईभीलगायत रोगको मात्रै जाँच भइरहेको छ । हेल्थ डेस्कमा एमपक्सको जाँच गर्ने उपकरण नै छैन । जसले भारतबाट फर्किनेहरुमा एमपक्स जाँच गर्न सकिएको छैन। अफ्रिकी मुलुकमा तीव्र गतिमा एमपक्स संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको छ ।


छिमेकी मुलुक भारतमा एमपक्स संक्रमण पुष्टि भएपनि अझै नाकामा सतर्कता अपनाइएको छैन । पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स संक्रमणको जोखिम बढेको छ । भारतबाट गड्डाचौकी नाका भएर दैनिक तीन सयको हाराहारीमा मानिस स्वदेश फर्किँदैछन् । भारतबाट फर्किनेको सामान्य जाँच पनि नहुँदा संक्रमणको जोखिम बढेको हो ।

हेल्थ डेस्कमा एमपक्स जाँच गर्ने मेसिन मात्रै होइन्, त्यहाँका स्वास्थ्यकर्मीलाई तालिम पनि दिइएको छैन । स्वास्थ्यकर्मी भारतबाट फर्किनेहरुमा आँखाले लक्षण हेरेर नाकामा प्रवेश दिइरहेका छन् । शंकास्पद लक्षण देखिएमा उनीहरूलाई अस्पताल जान सल्लाह दिन्छन् ।
तर, उनीहरु अस्पताल जान्छन् कि जाँदैनन ? यकिन छैन । नाकामा । कडाई नहुँदा एमपक्सको जोखिम बढेको हो । उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताइन् ।
उनका अनुसार भारतबाट आउनेहरुमा लक्षण, हाउभाउ हेरेर स्क्रिनिङ्ग मात्रै गर्ने गरिन्छ । अहिले सम्म शंकास्पद लक्षण देखिएका ७ जनालाई अस्पताल रेफर गरिएको छ । भारतको विभिन्न ठाउँबाट दैनिक भित्रिने करिब अढाई सय मानिसको स्क्रिनिङ्ग भइरहेको छ । पैदल हिँडेर आउने मानिस स्क्रिनिङ्ग पर्ने भएपनि सवारी साधनबाट आउने मानिसको स्क्रिनिङ्ग नै गर्न नसकिएको ल्याब टेक्निसियन धामीले बताइन ।
गड्डाचौकी नाका भएर महेन्द्रनगरदेखि दिल्ली र देहरादून सम्म मैत्री बससेवा पनि सञ्चालनमा छन् । करिब एक दर्जन बसमा आउने यात्रु जाँच नगरीकनै भित्रिने गरेका छन् । कतिपय यात्रु तेस्रो मुलुकबाट दिल्ली विमानस्थल हुँदै पनि आउने गरेका कारण संक्रमणको जोखिम छ । अझै चाडपर्व नजिकिँदै गएकाले भारतबाट स्वदेश फिर्ता हुनेको चाप बढ्ने भएकाले पनि एमपक्सको जाँचमा कडाइ गर्नु पर्ने आवश्यकता छ ।
भारतबाट आउने मानिसका कारण एमपक्सको जोखिम बढेको स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले बताए । नाकामा स्क्रिनिङ्ग मात्रै भइरहेको र एमपक्सको जाँचमा कडाइमा गर्न नसकिएको उनको भनाइ छ ।





