


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा रहेको सरस्वती नमूना विद्यालयको २ कोठे प्रशासकीय भवनको शिलन्यास गरीएको छ ।


गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बुधबार भवनको शिलन्यास गरेका हुन । नगरपालिकाले सञ्चालन गरेको नमुना विद्यालय कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८०/०८१ मा भवन निर्माण भईरहेको हो ।


केही बर्ष अगाडि सम्म गोदावरी नगरको बुढीतोला, फूलवस्ती, सिमका ग्रामीण क्षेत्रका विद्यालय जीर्ण रहेका ठाउँमा नयाँ भवन निर्माण गरेको थियो । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए । पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए ।
तर, स्थानीय सरकार गठनपश्चात् अहिले केही मात्रामा भौतिकमात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ । विद्यालयको भौतिक संरचना सुधार भएसँगै गोदावरी नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ लागेको छ ।

शैक्षिक गुणस्तर बढाउनका लागि गोदावरी नगरपालिकाले सामुदायिक विद्यालयको तह मिलान तथा समायोजन गरेको बताएका छन् । ५६ सामुदायिक विद्यालय सञ्चालनमा रहेको गोदावरीमा २१ माध्यमिक र ३ ओटा धार्मीक विद्यालय सहित ३६ ओटा आधारभूत तहका विद्यालयहरु रहेका छन् । यस्तै प्राविधिक शिक्षा अन्तरगत दुर्गालक्ष्मी नमूना माविमा कम्प्युटर शिक्षा पढाई भै रहेको शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले बताए ।

शिलान्यास पश्चात कार्यक्रममा बाेल्नु हुँदै नगर प्रमुख बिरेन्द्र भट्टले एक वडा एक नमूना कार्यक्रम अन्तरगत भवन निर्माण सुरु भएको बताए । उनले विद्यालयमा विद्यार्थीको संख्या बढी भएको र भौतिक पूर्वाधार अभाव भएकाले एउटा २ कोठे प्रशासनिक भवन निर्माण गर्न लागिएको बताए । ‘बजार नजिकैको विद्यालय भएकाले विद्यार्थीको संख्या बढी छ’ उनले भने ‘विद्यालयमा भवन अभावको माग लिएर विद्यालय व्यवस्थापन समिति आएपछि हामीले सहयोग गरेका हौ ।’ उनले विद्यालयको प्रशासकीय भवन नगरपालिकाले सहयोग गरेको बताएका छन ।
एक वडा एक नमूना कार्यक्रम अनुरुप गोदावरी नगरपालिकाले २४ लाख रुपैयामा विद्यालयको २ कोठे पक्कि भवन निर्माण भैरहेको हो । बाह्य सामग्रीहरूको लागि टेण्डर प्रक्रिया मार्फतकाम अगाडि बढाउने विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घराज भट्टले बताएका छन ।
कार्यक्रममा गोदावरी नगरपालिका प्रवक्ता तथा वडा न १ का अध्यक्ष गोपाल दत्त भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घ राज भट्ट लगायत अभिभावक, शिक्षक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।





