कैलालीका किसानले भित्र्याउन पाएनन् चैतेधान

कैलाली– भजनी नगरपालिका–८ का ओम पाण्डेले यस वर्ष एक बिघा क्षेत्रफलमा चैतधान लगाए। विगत वर्षमा राम्रो उत्पादन दिएपछि उनले ६ कट्ठामा लगाउँदै आएको चैतेधानको खेती विस्तार गरेका थिए।

धानखेती विस्तार गरेका पाण्डेले यस वर्ष बाढीका कारण धान भित्र्याउन पाएनन् । गत असार १९ गते पथरैया नदीमा आएको बाढीले दुई हप्तासम्म धान डुबानमा परेपछि सबै नष्ट भएको उनले गुनासो गरे। ‘उत्पादन राम्रो हुने, बर्खामा खेती नहुने भएपछि डुबान हुने सबै क्षेत्रमा चैतेधान लगाएको थिएँ’, उनी भन्छन्, ‘पाँच–छ कट्ठाको भित्र्याउन सके पनि बाँकी सबै डुबानले सखाप बनायो।’

Navadurga sun
Godawari sandesh

सोही ठाउँका लालप्रसाद न्यौपानेले पनि चैतेधान भित्र्याउन पाएनन्। असार १९ गतेको डुबानले १६ कट्ठामा लगाएको सबै धान नष्ट भएपछि भएको खर्चको जोहो गर्न मुस्किल हुने उनको भनाइ छ। ‘यस वर्ष धान राम्रो थियो। उत्पादन राम्रो हुन्छ भन्ने आशा जागेको थियो’, न्यौपानेले भने, ‘धान राम्रो भएको डुबानमा पर्नलाई रहेछ। अहिले धान रोप्ने बेला लागेको खर्च व्यवस्थापन गर्न गाह्रो भएको छ।’ उनका अनुसार ढिलोगरी रोपाइँ गरेका अधिकांश किसानले धान भित्र्याउन पाएनन्।

यस वर्ष किसानले ढिलोगरी धान रोप्नु र छिटो बाढी आउनुले पनि अधिकांश किसानको धान डुबानले नष्ट हुनपुग्यो। धान काट्ने साधन समयमा नपाउँदा भित्र्याउन तयार भएको एक बिघा क्षेत्रफलको धान नष्ट भएको भजनी –३ का नेत्र देउवा बताउँछन्। डुबानले करिब ५० क्विन्टल धान खेतमै पुरिएको दुखेसो उनको छ।

Dadeldhura hospital

‘समयमा धान काट्ने साधन पाइएन, हातले काट्दा १० कट्ठाको धानमात्रै भित्र्याउन सकियो’, उनले भने, ‘अरुको साधनको भर परेर खेती लगाउनु पनि दुःख हुँदोरहेछ।’ देउवाका अनुसार १० कट्ठामा २९ क्विन्टल धान उत्पादन भएको छ।

उत्पादन भएको धान बिक्रीका लागि बजार अभाव रहेको किसान बताउँछन्। बजार मूल्य किसानको छैन। व्यापारीले भनेअनुसार किसानले धान बेच्नुपर्ने बाध्यता छ। ‘सुरुमा तीन हजार छ सय प्रतिक्विन्टल बिक्री गरेको धान केही समयपछि तीन हजारमा बिक्री गर्नुपर्यो’, किसान चन्द्रबहादुर चौधरी बताउँछन्।

‘किसानले सुरुको मूल्य अन्तिमसम्म पाउन सकेको भए राम्रो हुन्थ्यो। सरकारले धानको समर्थन मूल्य तोक्दा चैतेधानलाई पनि ध्यानमा राखेर मूल्य तोक्नुपर्छ।’ उनले धानको समर्थन मूल्यसँगै खाद्य संस्थानले धान खरिद गर्ने व्यवस्था गर्नुपर्ने बताए।

भजनी नगरपालिकाका अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैतेधान बाढी र डुबानले नष्ट गरेको छ । यतिबेला भजनीका अधिकांश कृषियोग्य फाँट बाँझो छन् । बर्खामा हुने बाढी र डुबानका कारण किसानले प्रायः खेती गर्दैनन्।

‘ढिलो वर्षा सुरु भएको वर्ष किसानले प्रायः धानखेती गर्दथे। मनसुन छिटो सक्रिय भएपछि अधिकांश जमिन बाँझो रहन्छ’, सुन्दर चौधरीले भने, ‘जमिन बाँझो हुँदा किसानलाई ठूलो नोक्सानी हुने गरेको छ। बाढी र डुबानको विकल्प किसानसँग भए उत्पादनमा ठूलो राहत हुन्थ्यो।’

बढी डुबान नभएको वर्ष किसानले दुई–तीनपटक चैतेधानको उत्पादन लिने गरेका छन्। असारमा भित्र्याएको चैतेधान डुबानमा नपरे भदौमा पुनः उत्पादन दिन्छ। ‘मैले तीनपटकसम्म एकैपटक रोपेको धान भित्र्याएको छु। आम्दानीका हिसाबले कम उत्पादन एक बिघामा दोस्रोपटक २० क्विन्टल जति उत्पादन लिएको थिएँ’, आन्तु चौधरी भन्छन्, ‘यस वर्ष एकपटक पनि उत्पादित धान भित्र्याउन सकिएन।’ भजनी क्षेत्रमा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएको थियो। रासस

Loading...