

अत्तरिया- कैलालीको गोदावरीमा यौनजन्य अपराधका २३ वटा निवेदन दर्ता भएका छन् । पीडितले इलाका प्रहरी कार्यालय मालाखेतीमा यौन अपराधका २३ वटा निवेदन दर्ता गरेका हुन् । आर्थिक वर्ष २०८०/०८१ मा जबरजस्ती करणीमा १६ र जबरजस्ती करणी उद्योगमा ७ गरेर २३ वटा उजूरी इलाका प्रहरी कार्यालय मालाखेतीमा दर्ता भएको प्रहरी प्रमुख गंगाबहादुर थापाले बताए ।


बाल यौन दुरुपयोगका थप २ उजुरी दर्ता भएको उनले बताए । सबै भन्दा बढी जबरजस्ती करणीका उजुरी दर्ता भएको उनले बताए । यस्ता उजुरीहरु दर्ता गरेर पीडकलाई कानुनी दायरामा ल्याउने काम भएको प्रहरीले जनाएको छ । गोदावरीमा आर्थिक वर्ष २०७८/०७९ मा जबरजस्ती करणीका ३९ र जबरजस्ती करणी उद्यागमा २१ उजुरी दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा जबरजस्ती करणीमा २३ र जरबजस्ती करणी उद्योगमा ८ वटा निवेदन दर्ता भएको इलाका प्रहरी कार्यालय मालाखेतीको तथ्याङ्क छ ।



कानुनी व्यवस्था
जबरजस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरेर कैद सजाय हुने व्यवस्था छ । जसमा १० वर्ष भन्दा कम उमेरकी बालिका भए १६ वर्ष देखि २० वर्ष सम्मको कैद सजाय, १० वर्ष वा १० वर्ष भन्दा माथि १४ वर्ष भन्दा कम उमेरकी बालिका भए १४ वर्ष देखि १६ वर्ष सम्म कैद, १४ वर्ष वा १४ वर्ष भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिका भए १२ वर्ष देखि १४ वर्ष सम्म कैद, त्यसैगरी १६ वर्ष वा १६ वर्ष भन्दा बढी १८ वर्ष भन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्ष सम्म कैद र १८ वर्ष वा १८ भन्दा बढी उमेरकी महिला भए ७ वर्ष देखि १० वर्ष सम्म कैद सजाय हुने व्यवस्था छ ।
साथै सामूहिक रूपमा जबरजस्ती करणी गरेमा गर्भवती, अशक्त, अपाङ्ग, शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हतियार देखाई जबरजस्ती करणी गर्ने थप सजाय हुने व्यवस्था ऐनमा गरेको छ । दफा २२० मा थुनामा रहेको व्यक्तिसँग करणी गरेमा, दफा २२१ मा आफ्नो संरक्षणमा रहेको व्यक्तिलाई जबरजस्ती करणी गरेमा थप कैद सजाय हुने व्यवस्था ऐनमा गरेको छ । त्यसैगरी यौन दुव्र्यवहार गर्न नहुने, बालयौन दुरूपयोग गर्न नहुने अप्राकृतिक मैथुन गर्न नहुने, पशुकरणी गर्न नहुनेसमेतको व्यवस्था यस ऐनमा गरेको छ।
सामाजिक सञ्जालको दुरुपयोग
इन्टरनेट सेवाको विस्तार सँगै सामाजिक सञ्जाल प्रयोकर्ताको संख्या बढेको छ । प्रयोगकर्ता बढेसँगै विकृति पनि बढेको छ । पछिल्लो समय समाजिक सञ्जालको दुरुपयोग गरेर अपराधिक गतिविधि हुने गरेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै आफ्ना कुरा आदानप्रदान गर्न सकिने भएकाले फेसबुक, इष्टाग्राम, भाइबर, इमो, स्काइप लगायतका सामाजिक सञ्जालको प्रयोगकर्ता बढेको छ ।
सामाजिक सञ्जाल मार्फत अपरिचित व्यक्तीसँग सम्र्पक भइ साथी बन्ने प्रचलन छ । सामान्य चिनजानबाट सुरु भएको मित्रता साथीमा परिणत हुन्छ । विपरीत लिङ्गीबिच माया प्रेम हुँदै यौन सम्पर्क सम्म हुने गरेका घटना सार्वजनिक हुने गरेका छन् । गोप्य भिडियोहरु रेकर्ड गरेर ब्ल्याकमेल गर्ने देखि हत्याहिंसाका घटनासमेत हुने गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग १८ वर्षमुनिका किशोर किशोरीबाट बढी हुने गरेको देखिएको छ ।