


कैलाली- कैलालीको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले ३ लाख ८३ हजार ७ सय पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको छ ।


विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका १३ वटै स्थानीय तहका भैँसी, राँगा, गाईगोरु, बाख्रा लगायत पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको हो । १ लाख ४१ हजार ६ सय गाईगोरु र भैँसी र राँगालाई खोरेत विरुद्धको खोप तथा १ लाख ९६ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीले जानकारी दिए ।



उनका अनुसार २१ हजार १ सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर, १० हजार गाईगोरुलाई लम्पीस्किन विरुद्धको खोप र १५ हजार स्थानीय जातका कुखुरालाई रानीखेत खोप लगाइएको छ । आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ४१ हजार खोरेत विरुद्धको खोप, १ लाख ७० हजार पिपिआर, २५ हजार क्लासिकल स्वाइन फिवर, २३ हजार लम्पीस्किन विरुद्धको खोप र १ लाख रानीखेत खोप लगाउने लक्ष्य छ ।
‘हामीले ५ लाख ५९ हजार पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाउने लक्ष्य राखेका थियौँ । तर लक्ष्यमा पुग्न सकिएन्’, उनले भने, ‘खोपका लागि मौसम पनि उपयुक्त चाहिन्छ । किसानको समय पनि मिल्नुपर्छ । यी यावत् कारणले खोप लक्ष्यमा पुग्न नसकेको हो ।’
खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिएको प्रमुख डा. अवस्थी बताउँछन् । आव २०७९/०८० मा विज्ञ केन्द्रले जिल्लाका सबै स्थानीय तहका ५ लाख ५३ हजार ३ सय ९१ पशु चौपायालाई विभिन्न रोग विरुद्धको खोप लगाएको थियो ।





