आज कैलालीका ५ स्थानीय तहमा सार्वजनिक बिदा 

धनगढी- आज कैलालीका ५ स्थानीय तहमा सार्वजनिक बिदा रहेको छ ।
कमैया मुक्ति दिवसको अवसरमा कैलाली जिल्लाका स्थानीय तह कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका लगायत पालिकाहरूले छुट्टा छुट्टै सूचना जारी गर्दै  बुधबार सार्वजनिक बिदा दिएका हुन् ।

२४औँ कमैया मुक्ति दिवसको अवसरमा थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका हुन् । कैलालीको जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कमैया रुपी दासताको जीवनबाट मुक्त भएको दिनको रूपमा कमैया मुक्ति दिवस भएको हुँदा पालिकास्तरमा सार्वजनिक बिदा दिएको बताए ।

पश्चिम तराइका कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया जिल्लामा एकताका जमिनदारहरूका घरमा बाँधुवा मजदुरको रूपमा कमैया बस्ने गरिन्थ्यो । राज्यले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गर्यो। २७ हजार भन्दा बढी कमैयाहरू मुक्त भए । त्यसयता कमैया दिवस मनाइँदै आएको मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताए ।

तर हाल सम्म सयौँ मुक्तकमैया अझैसम्म पुनर्स्थापना हुन बाँकी रहेका छन् । बुधवार दिवसको अवसरमा पालिका स्तरमा भेला, र्याली, अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष चौधरीले सुनाए ।

Loading...