अत्तरिया- मनसुनमा बाढी-पहिरोका कारण बर्सेनी सर्वसाधारणको यात्रा कष्टपूर्ण हुन्छ। यसपालि पनि पहिरोको कारण राजमार्गहरू अवरूद्ध हुने क्रम जारी छ ।
खासगरी काठमाडौंबाट आउजाउ गर्ने पृथ्वी राजमार्गमा अवरूद्ध भइरहँदा यात्रुको सास्ती बढेको छ। यसबाट छुटकारा पाउन यात्रुहरूले विकल्प खोजिरहेका छन् । पहिलो विकल्प हवाई यात्रा भएको छ । हाल काठमाडौं-धनगढी बुद्ध र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन् ।
बुद्धले काठमाडौं-धनगढी दैनिक तीन वटा उडान गरिरहेको छ । त्यस्तै, श्री एयरलाइन्सले काठमाडौं-धनगढी चार उडान गरिरहेका छ । हवाइ यात्रा गर्दा न्यूनतमदेखि अधिकतमसम्मको भाडादर तोकिएको हुन्छ । बुद्ध एयरलाइन्सले काठमाडौं-धनगढी लागि न्यूनतम भाडादर सात हजार नौ सय रूपैयाँ राखेको छ । त्यस्तै यही गन्तव्यका लागि बुद्धले १७ हजार ८६ रूपैयाँ अधिकतम भाडादर राखेको छ ।
यो गन्तव्यमा दुबै एयरलाइन्सको भाडादर उही छ । श्रीले काठमाडौं-धनगढी न्यूनतम भाडादर सात हजार नौ सय र अधिकतम १७ हजार ८५ रूपैयाँ रहेको छ ।