धनगढी- कैलालीको कैलारी गाउँपालिका ६ का प्रभात कुमार चौधरी असारमा पाकेको चैते धान भित्र्याएर बर्खे धान रोप्न भ्याइसकेका छन् । चैते धान काटे लगत्तै उनले बर्खे धानको रोपाइँ गरेका हुन् ।
प्रविधिको विकाससँगै किसानलाई कृषियन्त्रको प्रयोगले खेतीमा सहजता भएको छ । धानको रोपाइँ देखि खेतमै थ्रेसिङ गर्ने कृषियन्त्र प्रयोग गर्न थालेपछि पछिल्लो समय एक लटको धानको थ्रेसिङ र अर्को लटको धानको रोपाइँ सँगसँगै सम्भव भएको हो ।
प्रभात चौधरीले भने, ‘यन्त्र–उपकरण नभएको भए कहाँ गर्न सकिथ्यो ? यन्त्र–उपकरणले खेती गर्न निकै सहज भएको छ ।’ कैलारी–२, कैलारी गाउँका तिलक चौधरीले पनि एक बिघा जमिनमा रोपिएको चैते धान असारमा भित्र्याएका छन् । खेतको खनजोत देखि बाली भित्र्याउँदासम्म उनी आधुनिक मेसिन प्रयोग गर्छन् । पाकेको धान पनि उनले कम्पेन मेसिनको मद्दतमा भित्र्याएका हुन्, जसले धान काट्ने कामसँगै थ्रेसिङ पनि गर्छ ।
उनले भने, ‘प्रविधिको प्रयोगले लागत घटाउँछ । प्रविधिको प्रयोगमा मौसम प्रतिकूलताको खासै प्रभाव रहन्न । मेसिन नभएको भए यो असारमा सँगै धान काट्न र थ्रेसिङ गर्नु, त्यसपछि अर्को धान बाली रोप्नु सम्भव नै थिएन नि ।’ किसानहरू धानका साथै गहुँ बालीमा प्रविधिको प्रयोगमा अग्रसर छन् ।
भजनी नगरपालिका–७ लालबोझीका कृषक खोजराम चौधरीले धान, गहुँलगायत बाली थ्रेसिङमा कम्पेनको प्रयोग गर्दै आएको बताउँछन् । उनले भने, ‘कम्पेनले गहुँ काटेर सिधै दाना निकाल्ने गरेको छ । यसले एकै दिनमा धेरै गहुँ काट्न सकिन्छ । निकै सजिलो छ ।’
चैते धान भित्र्याइसके पछि लगत्तै रोपाइँ गर्दा चैते धानको पराल सहितको भागले हरियो मलको काम गर्ने तिलक चौधरी बताउँछन् । पछिल्लो समय कैलालीका किसान खनजोतका लागि पावर टिलर, रोटाभेट, सिडड्रिल, कम्पेन लगायत प्रविधि प्रयोगमा अग्रसर देखिएका छन् । प्रविधिकै प्रयोगले उनीहरू वर्षमा ३ बालीसम्म लिन सफल हुँदै आएका छन् ।
किसानहरू धानका साथै गहुँ बालीमा प्रविधिको प्रयोगमा अग्रसर छन् । भजनी नगरपालिका–७ लालबोझीका कृषक खोजराम चौधरीले धान, गहुँलगायत बाली थ्रेसिङमा कम्पेनको प्रयोग गर्दै आएको बताउँछन् । उनले भने, ‘कम्पेनले गहुँ काटेर सिधै दाना निकाल्ने गरेको छ । यसले एकै दिनमा धेरै गहुँ काट्न सकिन्छ । निकै सजिलो छ ।’ कम्पेनले काटेको गहुँ थ्रेसिङ गर्नुपर्ने झन्झट नरहने चौधरीको अनुभव छ ।