धनगढीमा नाइरोबी फ्लाइ किराको आतङ्क

अत्तरिया- धनगढी नाइरोबी फ्लाई किराको आतङ्क देखिएको छ । धनगढीमा अस्पतालहरूमा किराका कारण भएको समस्या सहित आउने बिरामीहरूको सङ्ख्या बढेको हो ।

धनगढीका निजी अस्पतालहरूमा दैनिक किराका कारण छालामा भएको समस्या सहित बिरामीहरू पुग्ने गरेका छन् । चिकित्सकका अनुसार मानिसको शरीरमा किराको सम्पर्क पछि रसायन निस्किन्छ । रसायनका कारण मानिसको छालामा फोका हुने तथा पाक्ने हुन्छ ।

किराको सम्पर्कबाट बच्न चिकित्सकले आग्रह गरेका छन् । चिकित्सकले किरालाई हातले नछुने, लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्ने, झुलको प्रयोग गर्ने, झ्याल र ढोकाहरू बन्द गर्ने र वातावरण सफा राख्न भनेका छन् ।

किराको सम्पर्कमा आएका बिरामीहरूले छालालाई धुने तथा चिकित्सकको सुझाव अनुसार औषधीको प्रयोग गर्न भनिएको छ ।

Loading...