कैलालीको गोदावरीमा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया गरिएको छ । नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गोदावरी नगरपालिकाको सहयोगमा ग्रामीण विकास सेवा केन्द्र बैतडीले कार्यक्रमको सहजीकरण गरेको थियो ।

गोदावरी नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्ने तयारी भइरहेको गोदावरी नगरपालिकाको रोजगार शाखा प्रमुख रोहित जोशीले बताए । उनका अनुसार गोदावरीमा २ सय १९ जना बालश्रमिकका रुपमा रहेका छन् । बढि जस्तो बजार एरिया र खुटिया क्षेत्रमा बालश्रमिक भेटिएको उनले बताए । गोदावरीको खुटिया क्षेत्रमा १ सय १० जना बालश्रमिक रहेका छन भने वडा नम्बर ११ र १२ मा ४० जना बालश्रमिक रहेका पाइएका छन् ।

त्यस्तै अन्य १० ओटा वडाहरूमा १०/१० जना बालश्रमिकका रुपमा रहेको पाइएका रोजगार शाखा प्रमुख जोशीले बताए । उनले पुनः प्रत्येक वडामा बालश्रमिकको तथ्याङ्क संकलन गरी भेटिएका बालश्रमिकलाई व्यवस्थापनका लागि नगरपालिकाले समन्वय गर्ने बताए ।

बालश्रम सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै कानुनी अधिवक्ता तेजराज उपाध्यायले राष्ट्रिय तथ्याङ्क र अन्तराष्ट्रिय प्रतिवेदन अनुसार बालश्रमको समस्या जटिल बन्दै गएको बताए । उनले आगामी २०८५ साल सम्ममा नेपालबाट सबै प्रकारको बालश्रम पूर्णरुपमा निवारण गरि मुलुकलाई बालश्रम रहित बनाउने उद्देश्य रहेको बताएका छन् ।

पहिचान गरिएका बालश्रम लक्षित समुह अन्तर्गत घरेलु बालश्रम, लागूपदार्थ संकलन, बेचबिखन तथा ओसारपसारमा संलग्न, होटेल तथा रेष्टुरा, ईट्टा उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेका पाइएको कानुनी अधिवक्ता उपाध्यायले बताए । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका नगर उपप्रमुख शारदा देवी रोकायाले पहिलो दायित्व स्थानीय निकायको भएकाले आफूहरूले बालश्रम र सहारा बिहिन बालबालिकाहरूलाई सहयोग गरिरहेको बताइन् । उनले अत्तरिया क्षेत्रमा अलपत्र अवस्थामा आमाबुवा गुमाएका थुप्रै बालबालिका भेटिने गरेको बताउँदै त्यस्ता बालबालिकाहरूलाई अत्तरिया स्थित महिला तथा बालबालिका सेभ हाउसमा राख्ने गरिएको बताइन ।

नगरपालिकाले उक्त सेभ हाउसलाई सहजताका लागि आर्थिक सहयोग समेत गरिरहेको बताइन्शनिबार अत्तरिया स्थित नमस्ते होटलमा गरिएको अन्तरक्रिया कार्यक्रममा गोदावरी नगरपालिकाका बिभिन्न वडाका वडाध्यक्ष, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय  अधिकृत हरि दत्त भट्ट, महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्री, इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायब उपरीक्षक डिएसपी गंगा बहादुर थापा लगायत शिक्षक, विद्यार्थी, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, पत्रकारको उपस्थिती रहेको थियो ।

Loading...