कैलालीमा श्रीमान श्रीमती बिच हुने खटपट बढ्दै, २१२ पुरुष पुगे अदालत

धनगढी- कैलालीमा श्रीमान श्रीमती बिच हुने खटपट बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा अदालतमा वैवाहिक सम्बन्ध अन्त्य गर्न ७०३ मुद्दा दर्ता भएका छन्। जसमध्ये महिलाले ४७६ र पुरुषले २२७ मुद्दा दर्ता गरेका छन्।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म सम्बन्धविच्छेदका थप ६३८ मुद्दा दर्ता भएका छन् । जसमा ४२६ मुद्दा महिलाले दर्ता गरेका छन् भने २१२ मुद्दा पुरुषले दर्ता गराएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि चालु आर्थिक वर्षको चैत मसान्तसम्म सम्बन्धविच्छेदका २ हजार ३६० मुद्दा जिल्ला अदालत कैलालीमा दर्ता भएका छन् ।

जसमध्ये १ हजार ६ सय ३८ मुद्दा महिलाले दर्ता गरेका छन भने ७२२ मुद्दा पुरुषले दर्ता गराएका हुन् । सम्बन्धविच्छेद गर्न अदालत जानेमा पुरुषभन्दा महिलाको संख्या दोब्बर देखिएको छ । जिल्लामा सम्बन्धविच्छेदको समस्या विकराल बन्दै गएको छ ।

जिल्लामा बैवाहिक सम्बन्ध तोड्न मुद्दा दिनेमा महिलाको संख्या सबै भन्दा धेरै देखिएको छ । पाँच वर्षको अवधिमा मात्र दुई हजार भन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा अदालतमा दर्ता भएका छन् । पाँच वर्षको अवधिमा दुई हजार तीन सय ६० मुद्दा दर्ता भएका छन् । ती मध्ये एक हजार ६३८ मुद्दा महिलाले दर्ता गरेका हुन् भने ७२२ थान मुद्दा पुरुषले दर्ता गरेका हुन् ।

दम्पतीको शयन कक्षासम्म फेसबुक 
अहिले धेरै दम्पती कामकाजी छन् । कोही काम गर्छन्, कोही जागिर खान्छन् भने कोही व्यापार गर्छन् । त्यसैले अन्तरंग पल साट्ने समय छोटिँदै गएको छ । त्यस माथि उनीहरूसँग थोरै समय बच्छ, जुन साँझ काम सकेर घर फर्किएपछिको समय, खाना खान बस्दाको समय, राति शयनकक्षमा बिताउने समय । यद्यपि यो समय पनि सोसल मिडियाले खोसिदिएको छ ।

मोबाइल शयनकक्षसम्म पुगेको छ । श्रीमान–श्रीमती दुवैको हातमा मोबाइल हुन्छ । उनीहरू या त फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, युट्युबमा अलमलिइरहेका हुन्छन् । कतिसम्म भने शयनकक्षमा समेत उनीहरू फेसबुक र ट्वीटरको दुनियाँमा रमाइरहेका हुन्छन्। दाम्पत्य सम्बन्धलाई दिगो, विश्वसनीय, मधुर, कसिलो र रसिलो बनाउन आपसी संवाद र सम्बन्धको खाँचो हुन्छ। तर सामाजिक सञ्जालले उनीहरूबीचको संवादको वातावरण नै बिथोलिदिएको छ ।

घर–व्यवहार चलाउन, घरको आर्थिक स्थितिदेखि बालबच्चाको पढाइ, आर्थिक लेनदेका लागि दम्पतीबीच अन्तरसंवाद भैरहनुपर्छ । अहिले उनीहरूबिच अन्तरसंवाद हुँदैन । श्रीमान–श्रीमतीबिच मोबाइलले दूरी बढाएको छ । यसको नकारात्मक प्रभाव श्रीमान–श्रीमतीको सम्बन्धमा परेको छ ।

Loading...