धनगढी- कैलालीमा जङ्गली फुट्कीको व्यापार बढेको छ । जङ्गलमा पाइने फुट्की खोजेर ल्याइ त्यसको व्यापार गर्न थालिएको हो ।

मनसुनी वर्षापछि तराईका विभिन्न जङ्गलमा फुट्की उम्रिएको छ । स्थानीयले जङ्गलबाट खोजेर ल्याइ बजारमा बिक्री गरिरहेका छन् । प्रति केजी आठ सय रुपियाँमा फुट्कीको व्यापार गरिरहेको धनगढी उपमहानगरपालिका–६ जालीकी कृष्णी चौधरीले बताइन । उनले आफ्नै जाली सामुदायिक वनबाट फुट्की खोजेर ल्याइ हाट बजारमा बिक्री गरेको जनाइन ।
फुट्की एक प्रकारको च्याउ प्रजाति हो । यो जमिनमा डल्लो डल्लो उम्रिएको हुन्छ । फुट्कीको तरकारी अत्यन्त स्वादिलो रहने गर्दछ ।
जङ्गलमा पाइने अर्गानिक र वर्षको एक सिजन केही दिनमात्रै पाइने तरकारी रहेका कारण जङ्गलमा खोज्न जानेको भिड लाग्ने गरेको छ । यसैगरी बजारमा यसको माग बढ्दो रहेको छ ।