चलचित्र नै भाषा, साहित्य र संस्कृतिको दर्शन हो : उपकुलपति जोशी

धनगढी- चलचित्र विषय नै भाषा, कला, साहित्य, इतिहास र पुरातात्विक विषयवस्तुको दर्शन भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले बताएका छन् । विहीबार धनगढीमा आयोजना भएको चलचित्र पत्रकारिता कार्यशाला गोष्ठीको उद्‌घाटन सत्रमा प्रमुख अतिथिको आशनबाट बोल्दै उपकुलपति जोशीले यस्तो बताएका हुन् ।

चलचित्रमा भाषा, कला, साहित्य, इतिहास र पुरातात्विक दर्शन रहेको बताउँदै उनले भने, ‘सबै क्षेत्रको सङ्गम नै चलचित्र हो ।’  उनले चलचित्र क्षेत्रलाई संरक्षण गर्नु पनि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान चिन्तित रहेको बताए । उनले आगामी वर्षमा चलचित्र सम्बन्धी एउटा विशेष महोत्सवको आयोजना गर्ने पनि बताए । उनले चलचित्र पत्रकारिता अहिलेको आवश्यकता रहेको बताउँदै भने, ‘चलचित्रका माध्यमबाट कला, साहित्य र पर्यटनको उजागर हुने भएकाले अहिलेको दृश्य युगमा चलचित्र पत्रकारिता अपरिहार्य भएको उनले बताएका हुन् ।

चलचित्रका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुका साथै देशकै अर्थतन्त्रमा सुधार आउने भएकाले चलचित्र उद्योगलाई उजागर गर्न चलचित्र पत्रकारिताको अह्म भूमिका रहेको विहीबार धनगढीमा आयोजित चलचित्र पत्रकारिता कार्यशाला गोष्ठीमा बोल्दै उनले त्यस्तो बताएका हुन् । चलचित्र पत्रकार संघ नेपाल धनगढी शाखाको आयोजना तथा चलचित्र विकास बोर्ड काठमाडौंको प्रवर्द्धनमा धनगढीमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै उपकुलपति जोशीले चलचित्र उद्योग विस्तारै धराशायी बन्दै भएको प्रति चिन्ता व्यक्त गरे ।

उनले भने, ‘सुदूरपश्चिम प्रदेश अन्य प्रदेशको तुलनामा चलचित्र क्षेत्रमा पछाडि छ ।’ द्वन्द्व काल भन्दा अघि धनगढीमै चार वटा सिनेमा हल भए पनि अहिले सुदूरपश्चिममै एक वटा मात्रै सिनेमा हल रहेको उनले बताए । सामाजिक सञ्जाल र अनलाइनले गर्दा भएका फिल्म हल पनि बन्द हुने अवस्था आएको प्रति उनले दुःख व्यक्त गरे । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार मनमोहन स्वाँरले आफ्नो पत्रकारिताको जीवनमा पहिलो पटक सुदूरपश्चिममा चलचित्र पत्रकारिता सम्बन्धी कार्यक्रम भएको अनुभव सुनाए । उनले भने, ‘समाचारमा अन्य विट झैं सुदूरपश्चिममा पहिलो पटक चलचित्र पत्रकारिता विट थपिनु पत्रकारका लागि खुशीको कुरा हो ।’ 

चलचित्र पत्रकार संघ–नेपाल धनगढीका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको दुई दिने चलचित्र पत्रकारिता कार्यशाला गोष्ठीको उद्‌घाटन सत्रमा प्रमुख सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, वरिष्ठ पत्रकार मनमोहन स्वाँर, सुदूरपश्चिम कलाकार संघका प्रदेश अध्यक्ष अम्बिका आचार्य, डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटी, सु.प कला प्रतिष्ठानका अध्यक्ष आवेस कुमार चन्द, द्वन्द्व निर्देशक उदयसिंह बोहरा लगायत कलाकार तथा पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सुदूरपश्चिमको कला, संस्कृति र चलचित्रका सम्भावना, चुनौति बारे छलफल गरिएको छ । कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकले बताएको छ ।

Loading...