धनगढी- कैलालीमा बाढीले पुल बगाएको छ । मङ्गलवार परेको अविरल वर्षाका कारण जिल्लाको घोडाघाडी नगरपालिका–८ तारानगरमा काठको पुल बगाएको हो ।
नगरपालिकाको बौराहा खोला र कौवा खोलामा आएको बाढीले काठेपुल बगाएको छ । काठे पुल बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । वडाध्यक्ष वीर बहादुर साउँदका अनुसार विद्यालय हिँडेका विद्यार्थी पुल भाँचिएपछि विद्यालय घुमाउरो बाटोबाट साँडेपानी र बेलकोट हुदै गएका छन् । तारानगर, तिलकेनी, जरै, बछुरियाका स्थानाथीलाई समस्या भएको हो ।
नदीको पारीपट्टि राष्ट्रिय माध्यमिक विद्यालय तारानगर रहेको छ । पुल तरेर विद्यालय जाने विद्यार्थी बाढीले पुल भाँजेपछि त्रैमासिक परीक्षा चलिरहेको विद्यालयमा बुधवारको परीक्षा दिन घुमाउरो बाटो प्रयोग गरेर जान बाध्य भएका हुन् । वडा नम्बर ५ र ७ जोड्ने चोङ्गालीपुर र राजीपुर बिचको काठे पुल बगेको छ । दरख माध्यमिक विद्यालय हरी नगर पढ्ने विद्यार्थी समस्यामा परेका छन् । परीक्षा चलेका कारण ५ किलोमिटर घुमेर विद्यालय जानु परेको छ ।
बाढीले दुवै काठेपुल क्षतिका साथै बगाएको खोलामा पक्किपुल निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । पक्किपुल निर्माण कार्य ढिलासुस्तीका कारण स्थानीले सास्ती खेप्नु परेको जनाइएको छ ।
मंगलबार राती आएको वर्षाका कारण कान्द्रा नदीमा पानीको सतह सतर्कता तह पार गरेको जल मापन केन्द्रले देखाएको छ । कान्द्रा नदीको बाढी पसेपछि वडा नम्बर ५ को फारम सरैया गाउँका स्थानीयलाई सुरक्षित रहन सचेत गरिएको छ ।