कैलारीको छटकपुर बसन्ताका ७ घर डुबानमा

धनगढी- कैलालीको कैलारी गाउँपालिका–७ स्थित छटकपुर बसन्ता डुबानमा परेको छ । कटैनी नदीमा आएको बाढीले सो गाउँमा डुबान भएको हो ।

अविरल वर्षाका कारण कटैनीमा बाढी आइ डुबान भएको स्थानीय दयाराम चौधरीले बताए । उनले आफ्नो घर पनि डुबेको जनाउँदै नदीमा बाढी बढ्ने क्रम अझै जारी रहेको जानकारी दिए ।

सो गाउँमा गतवर्ष पनि डुबान भएको थियो । बाढीले अहिले सम्म छटकपुर बसन्ताको सात घर डुबानमा परेको कैलारी गाउँपालिकाको विपत् व्यवस्थापन शाखाका प्रमुख भुवन बखरियाले जानकारी दिए । उनले घरमा पानी पसेको जनाउँदै अन्य क्षति भने हुन नपाएको उल्लेख गरे ।

डुबान प्रभावित गाउँमा उद्धारका लागि कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र बम, कर्मचारी जनप्रतिनिधिसहित सुरक्षाकर्मीको टोली पुगेको छ ।

Loading...