रानीसैनमा ‘भिस्याट’ प्रविधि मार्फत टेलिफोन सेवा

बाजुरा- नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्र स्थित रानीसैनमा भिस्याट प्रविधि मार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । बाजुरा सदरमुकाम मार्तडीबाट गाडीमा एक दिन र यस पछि करिब चार दिन पैदल हिँडेर  तथा हुम्ला सदरमुकाम सिमकोटबाट गाडीमा चार घण्टा र एक दिन पैदल हिँडेर यो स्थानमा पुग्न सकिने स्थानीयको भनाइ छ । 

सैपाल हिमाल क्षेत्रमा  रहेको सो भन्दा करिब २० किलोमिटर तल लाम्पाटा र माथि पाँच हजार पाँच सय मिटर उचाइमा पुगेर मात्र मोबाइल सेवा मार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । नेपाल टेलिकम प्राविधिक सहायक राम बहादुर खातीले रानीसैन  क्षेत्रका करिब ६ सय बासिन्दाले सहज तरिकाले टेलिफोन सेवा  पाउने जानकारी दिए । 

उनका अनुसार हुम्लाका स्थानीय सोनाम लामाले भिस्याट मार्फत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति लिएपछि सेवा सुरु भएको थियो । सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खास गरी चरिचरन क्षेत्र हो । यहाँ छ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन ।

करिब ३ हजार ६ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भएपश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुने प्राविधिक सहायक खातीले बताए । भिस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानाबाट करिब ४ दिन सम्म मानिसले बोकेर रानीसैन पुर्याइएको थियो ।

दुर्गम तथा अतिविकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । चालु आवमा दार्चुलाको तिंकर, रसुवाको गोसाइँकुण्ड, सङ्खुवासभाको किमाथाङ्का लगायत स्थानमा भिस्याट मार्फत सेवा सञ्चालन गरिएको छ ।  रासस

Loading...