​​​​​​​सुदूरपश्चिममा विपतबाट चालीस जनाको मृत्यु

धनगढी- सुदूरपश्चिम प्रदेशमा विपतका घटनाबाट ४० जनाको ज्यान गएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार साउन १ देखि असार १६ गते सम्म ४० जनाको ज्यान गएको हो । मृत्यु हुनेमा महिला र पुरुषको सङ्ख्या २०/२० रहेको छ । सो अवधिमा ५७५ वटा विपतका घटना भएको केन्द्रको बुलेटिनमा उल्लेख छ ।

सबै भन्दा बढी २६६ वटा आगलागीका घटना भएका छन् । जसमा ४ पुरुष र ७ महिला गरी ११ जनाले ज्यान गुमाएका छन् भने २९ जना घाइते भएका छन् । ४४ आंशिक र ३० पूर्ण गरी ७४ घरमा क्षति भएको छ । आगलागीबाट १०५ चौपायासमेत मरेको जनाइएको छ । सर्पदंशका ५३ घटना घटेका छन् । सर्पको टोकाइबाट हालसम्म सात जनाको मृत्यु भएको र ५५ जना घाइते भएका जनाइएको छ ।

सर्पको टोकाइबाट ११७ चौपायाको पनि ज्यान गएको बुलेटिनमा उल्लेख छ । चट्याङबाट ३ पुरुष र ४ महिला गरी ७ जनाको ज्यान गएको छ । चट्याङ लागेर ८ जना घाइते भएको जनाइएको छ । 

त्यस्तै हावाहुरीबाट चार जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । बाढीबाट ४ जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । जङ्गली जनावरको आतङ्कबाट ३ जनाको मृत्यु र ३ हजार ३ सय ७७ घरपरिवार प्रभावित भएको जनाइएको छ । पहिरोबाट तीन तथा भूकम्प र लेक लागेर एक/एक जनाको ज्यान गएको केन्द्रले जानकारी दिएको छ ।

करिब दस करोडको क्षति
यस प्रदेशमा विपतका घटनाबाट करिब १ वर्षमा १० करोड ७४ लाख ५७ हजार रुपियाँ बराबरको क्षति भएको छ । सबै भन्दा बढी आगलागीबाट १० करोड १० लाख ४२ हजार ७ सय रुपियाँ बराबरको नोक्सान भएको हो । सुक्खायाममा विशेष गरेर वैशाख, जेठमा सबै भन्दा बढी आगलागीको घटना घटेको थियो । सर्पदंशबाट ९५ हजार, हावाहुरीबाट ७ लाख ५० हजार रुपियाँ बराबरको नोक्सान भएको छ । बाढीबाट २ लाख ५० हजार र वन्यजन्तुबाट २० लाख रुपियाँ बराबरको क्षति भएको जनाइएको छ ।

केन्द्रले सम्बन्धित सरोकारवाला निकायलाई विपतका घटनाबारे दैनिक जानकारी गराउने गरेको छ । हरेक दिन विपत् बुलेटिन प्रकाशित गरेर मन्त्रालयको वेबसाइटमै राखिने गरेको सूचना अधिकारी दीपेन्द्र सिंह विष्टले बताए ।

Loading...