चितवन- वर्षा लागे सँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनले मनसुन सुरु भए सँगै निकुञ्ज भित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाउन लागिएको बताए ।
निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । गत वर्ष असार १ गते देखि नै बन्द गरिएकामा यस वर्ष अर्को सूचना जारी नभए सम्मका लागि पर्यटकीय गतिविधि बन्द गर्न लागिएको पुर्जा पुनले जानकारी दिए ।
निकुञ्ज भित्रका गतिविधि बन्द भए पनि यहाँ आउने पर्यटकले मध्यवर्ती सामुदायिक वनमा हात्ती, जिप, पैदल सफारी गर्न सक्ने छन् ।