धनगढी- कैलालीमा पाँच वटा पालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा नागरिकको जीवन रक्षा देखि रोजगारी सिर्जना सम्मका विषय समावेश गरिएको पाइएको छ ।
धनगढी उपमहानगरपालिका, टीकापुर र गौरीगंगा नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाले ‘एक विद्यालय, एक नर्स’, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स देखि रात्रिकालीन बजार सञ्चालन गर्ने सम्मका विषय आगामीको आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेका हुन् ।
गौरीगंगा नगरपालिकाले अपांगता भएका व्यक्तिले उत्पादन गरेका सामान खरिद गरिदिने भएको छ । नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामान खरिद गर्ने उल्लेख छ । सो नगरपालिकाले अनाथ बालबालिकाको अभिभावकत्व लिने नीति समेत लिएको छ ।
यसका साथै गौरीगंगाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ । गर्भवतीलाई निःशुल्क एम्बुलेन्स कार्यक्रम जोशीपुर गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि राखिएको छ । जोशीपुरले हरेक वडामा माटो परीक्षण गर्ने कार्यक्रमसमेत ल्याएको अध्यक्ष चित्र बहादुर चौधरीले बताए ।
त्यस्तै टीकापुर नगरपालिकाले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र खोल्ने, अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा दिने लगायत कार्यक्रम ल्याएको छ । जानकी गाउँपालिकाले पनि ‘एक विद्यालय, एक नर्स’, ‘एक वडा, एक नमुना विद्यालय’, ‘एक वडा, एक खेलमैदान’, पोषण कर्नर स्थापना, ‘एक वडा, एक सुपथ मूल्य सहकारी’जस्ता नीति समावेश गरेको छ ।
यता धनगढी उपमहानगरपालिकाले युवालाई स्वरोजगार बनाउन धनगढीमा रात्रिकालीन बजार सञ्चालन गर्ने भएको छ । मेयर गोपाल हमालले बेरोजगार युवालाई पार्क मोडमा रात्रिकालीन बजार सञ्चालन गर्न दिने नीति ल्याएको बताए ।
त्यस्तै धनगढीले ‘एक वडा, एक नमुना विद्यालय विकास कार्यक्रम’ लाई निरन्तरता दिएको छ । नगरभित्रका तालतलैयाको अतिक्रमण हटाएर पुरानै स्वरूपमा फर्काउने, खोलानाला, जग्गा लगायत सार्वजनिक सम्पत्तिको अतिक्रमण हटाउने नीति पनि समेटेको छ ।