हरिश चन्द/डडेल्धुरा १२ असार । खेतबारीमा बाह्रैमास सिँचाइ योजना पुर्याउने उद्देश्यले डडेल्धुराका ७ स्थानीय तहमा निर्माणाधीन योजना मध्ये हाल सम्म ६० वटा सिँचाइ योजनाको काम सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षमा विनियोजित बजेट अनुसार ६० योजनाको काम सम्पन्न भएको हो । अहिले डडेल्धुरा जिल्लामा सिँचाइका साना ठूला गरी १०४ वटा योजना छन् । ती मध्ये ६० वटा योजनाको काम सम्पन्न भएको जलस्रोत तथा सिँंचाइ विकास डिभिजन कार्यालय डडेल्धुराका प्रमुख रामरथ खरेलले जानकारी दिए ।
कार्यालय प्रमुख खरेलका अनुसार थप ४४ वटा योजना सम्पन्न हुने चरणमा छन् । असार मसान्त सम्म अधिकांश योजना पूरा हुने उनले जानकारी दिए । हरेक योजना पूर्ण रूपमा सम्पन्न हुने नभई चालु आर्थिक वर्षका लागि विनियोजन बजेटले गर्न सकिने काम सकिएको खरेलले बताए । जिल्लाका अधिकांश योजना बहुवर्षे रहेका छन् भने केही योजना छोटो अवधिका समेत रहेका छन् ।
छोटो अवधिका योजना मध्ये झण्डै एक दर्जन योजना सम्पन्न भई कृषकले सिँचाइको सुविधा समेत पाइसकेको खरेलले बताए । ती योजना मर्मत तथा स्तरोन्नति, लिफ्ट, लगायतका हुन् । जिल्लाको परशुराम नगरपाललिका-५ मा रहेको परिगाँउ सिँचाइ योजना, अजमेरु गाँउपालिका-६ भराड मा सञ्चालित सिँचाइ योजना र परशुराम नगरपालिकाकै वडा नं. ५ मा रहेको अपर सिँचाइ योजना ठूला प्रकृतिका योजना हुन् ।
यिनीहरूको काम पनि धमाधम भइरहेको कार्यालयका सब ईन्जिनियर रोशन भट्टले जानकारी दिनु भयो । जिल्लाभर रहेका सिंँचाइ योजना मध्ये स्तरोन्नति गर्नुपर्ने योजनाको काम पनि सकिएको छ । यस वर्ष स्तरोन्नति, मर्मत र नयाँ सम्पन्न भएका योजनाबाट ४ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा सिंँचाइ सुविधा विस्तार भएको पनि कार्यालय प्रमुख खरेलले जानकारी दिए ।
कार्यालयमा चालु आर्थिक वर्षका लागि विनियोजित भएको कुल २७ करोड ५० लाख रुपैयाँ बजेट मध्ये आजको मिति सम्म १७ करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको छ । कार्यालयले चालु आर्थिक वर्षको अषाढ बुधवार सम्मको भौतिक प्रगति ७० प्रतिशत र वित्तिय प्रगति ६३ प्रतिशत पुगेको जनाएको छ ।
अहिले डडेल्धुरामा बाह्रैमास सिँचाइ सुविधा ३ हजार ८ सय ४ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको कार्यालयले जनाएको छ ।