सम्बन्धित विद्यालयमै गएर शिक्षा प्रदान गर्न उपाध्यायलाई महालेखाले निर्देशन

धनगढी- धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको निजी सचिवालयमा कार्यरत शिक्षक कृपाराज उपाध्यायलाई सम्बन्धित विद्यालयमै गएर शिक्षा प्रदान गर्न महालेखाले निर्देशन गरेको छ । आर्थिक वर्ष २०७९/०८० को महालेखा परीक्षकको प्रतिवेदनमा शिक्षक उपाध्यायलाई शिक्षा क्षेत्र बाहेक प्रशासनिक क्षेत्रमा काजमा ल्याउन नहुने तर्क गरिएको छ ।

नगर शिक्षा ऐन धनगढी २०७४, को दफा ४१ मा सामुदायिक विद्यालयले शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धी काममा बाहेक अन्य काममा लगाउन नहुने ब्यवस्था गरेको छ । महालेखाको प्रतिवेदन अनुसार पालिकाले ठेकराज माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कृपाराज उपाध्यायलाई मेयरको सचिवालयमा कामकाजको जिम्मेवारी प्रदान गरेको छ ।

यसरी दरबन्दी भित्रका शिक्षकलाई शिक्षा प्रदान गर्ने जिम्मेवारी नदिई उक्त स्थानमा करारमा शिक्षक भर्ना गरी थप व्ययभार पारेको महालेखाको निष्कर्ष छ ।

यसरी शिक्षकलाई सम्बन्धित विद्यालयमा फिर्ता गरी शिक्षा प्रदान गर्ने जिम्मेवारी दिनुका साथै दरबन्दी भित्रको स्थाई शिक्षकको स्थानमा करारमा शिक्षक भर्ना गरी थप व्ययभार पार्ने कार्यमा नियन्त्रण गरिनुपर्ने महालेखाको तर्क छ ।

Loading...