अन्तरलिङ्गी व्यक्तिका मुद्दाका विषयमा अभिभुखिकरण कार्यक्रम सम्पन्न

अत्तरिया- अन्तरलिङ्गी व्यक्तिका मुद्दाका विषयमा अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ । एकता नेपालको सहकार्यमा क्याम्पेन फर चेन्जको आयोजनाका शनिबार धनगढीमा मिडिया अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा क्याम्पेन फर चेन्जका कार्यकारी निर्देशक ईशान रेग्मीले अन्तरलिङ्गी व्यक्तिको अवस्थाका बारेमा प्रस्तुतिकरण राखेका थिए । उनले अन्तरलिङ्गी व्यक्तिहरूले समाजमा हरेक किसिमका विभेद भोग्नु परेको बताए । उनले भने, अन्तरलिङ्गीले सामाजिक विभेद भोग्नु परेको छ । साथै उनीहरूका अभिभावकले समेत विभेद भोग्नु परेको छ ।

शारीरिक विविधता भएका अन्तरलिङ्गहरु आवश्यक स्वास्थ्य सेवा, शिक्षा लगायतका सेवाबाट पनि बञ्चित हुन परेको उनले बताए । अन्तरलिङ्गीको हक अधिकारका लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । जनचेतनाको कमीका कारण अन्तरलिङ्गी विविधता भएका व्यक्ति बारे अभिभावक, समाज नै अलमलमै रहेकाले मानवअधिकारको हनन भइरहेको उनको भनाई छ । अन्तरलिङ्गीको विविधता बारे जानकारी दिन आयोजित कार्यक्रममा कार्यकारी निर्देशक रेग्मीले आफूले २१ वर्षको उमेरमा मात्र आफू अन्तरलिङ्गी भएको जानकारी पाएको बताए ।

उनले छोराको बढी चाहना राख्ने नेपाली परम्पराका कारण शिस्नयोनी भएका बालबालिका जन्मने बित्तिकै शल्यक्रियाको चपेटामा परेको थुप्रै घटना रहेको बताए । उनले जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने कानुनी प्रावधान छ तर महिला–पुरुषको बाहेकका यौनिक पहिचान लिएर जन्मिएका व्यक्तिले वयस्क हुँदा मात्र आफू कुन पहिचान लिएर बाँच्ने भन्ने निर्णय लिन सक्छन्, भन्दै व्यक्ति वयस्क भएपछि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र नागरिकतासमेत सच्याउने लगायतका बोझिलो प्रक्रियाबाट अन्तरलिङ्गीले गुज्रनु परेको यथार्थ रहेको उनको भनाई छ ।

कार्यक्रममा पत्रकार महासंघका सचिव हेम कर्ण विकले विगतमा भन्दा हाल यौनिक तथा अल्पसङ्ख्यक समुदायका विविधता बारे लेख, रचना, समाचार बढी लेखिने गरेको बताए । उनले यौनिक तथा अल्पसङ्ख्यक समुदाय भनेर सबै किसिमको यौनिक पहिचानलाई बुझाउन सकिन्न, भन्दै अन्तरलिङ्गी लगायत फरक पहिचान भएका व्यक्तिको वर्गीकृत तथ्याङ्क आउनुपर्छ र उहाँहरूलाई सम्बोधन हुने कानुनसमेत बन्नुपर्ने बताए । ५८ जनामा १ जना अन्तरलिङ्गी भएको तथ्यांक प्रस्तुत गर्दै अन्तरलिङ्गी गर्भावस्थाको जाँच, जन्मने बेला, किशोराअस्थामा पत्ता लाग्ने तथ्यांक छ ।

एकिन तथ्यांक नभएपनि १.७ प्रतिशत व्यक्तिहरू अन्तरलिङ्गी भएको उनले बताए । कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Loading...