अत्तरिया- कैलालीको धनगढीमा लागूपदार्थ दुर्व्यसन सम्बन्धी जनचेतना मूलक कार्यक्रम गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको पहिलो आरम्भ पुर्नस्थापना केन्द्रको आयोजनामा वडा नम्बर ५ को कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो ।
पुर्नस्थापना केन्द्रका संस्थापक विकास शाहीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष गजेन्द्र शाही प्रमुख अतिथि रहेका थिए । समाजमा लागूऔषध दुर्व्यसनीको बढ्दो समस्यालाई मध्यनजर गर्दै समाजका बिभिन्न व्यक्तिहरूलाई सहभागि गराइ जनचेतना मूलक कार्यक्रमको आयोजना गरिएको हो ।
वडा प्रहरी निरीक्षक जनक ढुंगाना, मानसिक तथा मनोरोग विशेषज्ञ डा. गणेश खड्का लगायतले लागूऔषध दुर्व्यसन सम्बन्धी जनचेतना मूलक मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत प्रेम भट्ट, पत्रकार दिर्घराज उपाध्याय, फारवेष्ट फिटनेशका सञ्चालक मोहन तामाङ लगायत, टोल विकास समितिका पदाधिकारी, शिक्षक शिक्षिका, युवा क्लबका पदाधिकारी, समाजसेवी, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
पछिल्लो समयमा धेरै युवायुवतीहरू लागूपदार्थ दुर्व्यसनमा फसेको बताउँदै सबै एकजुट भएर लागेमा यसको अन्त्य हुने कार्यक्रमका सहभागीहरूले बताएका थिए ।
त्यस्तै कार्यक्रममा युवा गोपाल जोशीले हिजोका दिनमा लागूपदार्थ दुर्व्यसनमा फसेर हालसम्मको अनुभव र भोगाइका साथै लागूपदार्थ दुर्व्यसन गलत बाटो भएको भन्दै आफ्ना धारणाहरू राखेका थिए । उनी लागूपदार्थ दुर्व्यसनको दलदलमा फसेर सुधार केन्द्रको सहयोगमा हाल सुधारको बाटोमा आएर सबैलाई लागूपदार्थ दुर्व्यसन सम्बन्धी जनचेतना फैलाउदै आएका छन् ।