अत्तरिया- प्रयोगविहीन अवस्थाको कैलालीको एक पुरानो पुल आम्दानी गर्ने थलो बनेको छ । गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा रहेको काठेपुललाई अचेल ‘भाइरल पुल’ भनेर चिनिन थालेको छ । यसको पहिचान बदलिएसँगै यो पुल आम्दानी गर्ने थलो बनेको हो । पुरानो काठेपुलनजिकै सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पक्की पुल बने पछि विगत केही वर्षदेखि भाइरल पुल सवारीसाधन ओहोरदोहोरका लागि प्रयोगमा छैन ।




अचेल यो पुल घुमफिर गर्न गोदावरी पुगेकाका लागि भने रमाउने पर्यटकीय स्थल बनेको छ । त्यहाँ पुगेकाहरू पुलमा घुमफिर गर्नुका साथै विभिन्न जातजातिको मौलिक पहिरन लगाएर फोटो खिचाउने, भिडियो बनाउने गरेका छन् । कैलालीको गोदावरी क्षेत्र घुम्न आन्तरिक सहित भारतीय पर्यटक पुग्ने गरेका छन् ।





घुमफिरका लागि गोदावरी पुगेकाले मौलिक पोसाक भाडामा लिएर फोटो खिचाउँदा स्थानीयवासीलाई गजबको आम्दानी भइरहेको छ । भाडामा पोसाक दिएर चाडपर्व वा सार्वजनिक बिदाको दिनमा दैनिक २० देखि २५ हजार रुपियाँसम्म कमाएको व्यवसायी जानकी ठकुन्नाले बताइन ।


उनले भनिन, पहिले भाडामा ड्रेस दिने दुई वटा मात्रै पसल हुँदा दिन भरिमा अन्य व्यापार भन्दा यसबाट राम्रो कमाइ हुने गर्दथ्यो । अहिले यस्ता पसल चार वटा भएपछि पहिलेको तुलनामा आम्दानी केही घटेको छ । ठकुन्नाले हाल दैनिक दुई/अढाई हजार देखि लिएर ७ हजारसम्म आम्दानी भइरहेको बताइन । स्थानीय पसलेले क्षेत्री, मगर, थारू, तामाङ, नेवारका मौलिक पहिरन भाडामा उपलब्ध गराउने गरेका छन् । आधा घण्टाका लागि लुगा लगाय बापतको शुल्क १ सय, १ घण्टाका लागि २ सय रुपियाँमा भाडामा दिने गरेको जनाइएको छ ।
घुमफिर गर्नेले विभिन्न जातिको मौलिक पहिरन लगाएर फोटो, भिडियो खिचाउने गरेका छन् । हाल गोदावरी पुल वरिपरि २६ जना फोटोग्राफरले काम पाइरहेका छन् । उनीहरूले १ सय रुपियाँमा ५ वटा फोटो खिचेर तत्कालै मोबाइलमा पठाउने गरेका छन् । यसरी फोटो खिचेर दैनिक राम्रै कमाइ भइरहेको फोटोग्राफर नितिन भट्टराईले बताए । उनले भने, एउटै पुलमा हामी २६ जना फोटोग्राफरले काम पाएका छौं । यो नै खुसीका कुरा हो ।
गोदावरीको भाइरल पुल जीर्ण अवस्थामा छ । गत वर्ष त्यसको एकातिर कमजोर भएपछि केही समय त्यसमा घुमफिर गर्न रोक लगाइएको थियो । भाइरल पुल पर्यटकीय स्थल बनिसकेकाले यसको संरक्षण स्थानीय सरकार सहित सरोकारवालाले गर्नु पर्ने व्यवसायी ठकुन्नाको भनाइ छ ।
पछिल्लो समय गोदावरीमा पर्यटक आकर्षण गर्ने संरचना थपिँदै गएका छन् । गोदावरी जिपलाइन सञ्चालनमा आएपछि दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । थप आकर्षणका लागि भाइरल पुलमाथि अब छाता राख्ने योजना रहेको स्थानीय व्यवसायीले बताएका छन् ।




