धनगढी- धनगढीको एक ग्यारेजले मर्मत गर्न दिएको गाडी ग्यारेजको साहुले बिक्री गरेको पाइएको छ । सुर्खेतबाट मर्मतका लागि ल्याइएको बा १९ च ७४२१ नम्बरको फचुनर गाडी ग्यारेजबाटै साहुले बिक्री गरेको पाइएको हो ।




कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित नेपाल अटो ट्रेडर्समा मर्मतका लागि लगिएको उक्त गाडी संचालकले आफूखुसी बेचेको पाइएपछि जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी मुद्दा दायर भएको छ ।







सुर्खेतको चौकुने गाउँपालिका –२ खगेश्वर वान्तलाले ट्रेडर्सका सञ्चालक देव कुमारी गतौंला, सञ्चालक कृतन गतौंला, म्यानेजर नविन चौधरी, मिस्त्री मनु अन्सारीमाथि ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायर गरेका हुन् । सुर्खेत प्रहरीले म्यानेजर चौधरी र मिस्त्री अन्सारीलाई पक्राउ गरेको छ । तर, संचालक देवकुमारी गतौंला उनका छोरा कृतन गतौंला भने फरार छन् । प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको छ ।
‘मैले राम्रो मर्मत हुन्छ भनेर नेपाल अटो ट्रेडर्समा पठाएको थिए’ पीडित खगेश्वर वान्तलाले भने, ‘लिन जाँदा बारम्बार अनेक बाहाना गरेका थिए । मर्मत भइसकेको भनेपछि पैसा पनि खातामा हालिदिए ।
लिन जाँदा गाडी नभेटिएपछि प्रहरीमा मुद्दा दिएको छु ।’ सुर्खेत प्रहरीले मुद्दा आइतबार सरकारी वकिलकोमा पठाउने तयारी गरेको छ। स्रोतका अनुसार मिस्त्रीलाई फसाएर नेपाल अटो ट्रेडर्सका संचालक र मेनेजरलाई बचाउने चलखेल भएको बुझिएको छ । गाडीको हालको मूल्य २ करोड ३१ लाख पर्छ ।




