बैतडीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

बैतडी- बैतडीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ४ का ६२ वर्षीय प्रतापसिंह ऐरीले आफ्नै श्रीमती ६० वर्षीया सुना ऐरी माथि मंगलबार कुटपिट गरेका थिए ।

श्रीमानको कुटाईबाट घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेम विक्रम केसीले जानकारी दिए ।

घरायसी विवाद कारण मंगलबार दिउँसो श्रीमती माथि प्रतापले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी सुनाको टाउकोमा चोट लागेको थियो । उनलाई जिल्ला अस्पताल बैतडीबाट थप उपचारका लागि मंगलबार राति नै डडेल्धुरा रेफर गरिएको थियो । उपचारकै क्रममा सुनाको बुधबार साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतापको कुटपिटबाट उनकी बुहारी २२ वर्षीया भावना ऐरी समेत घाइते भएकी छन् । आफ्नी श्रीमती माथि कुटपिट गर्ने बेला झगडा छुट्याउन गएकी भावनाको खुट्टामा चोट रहेको प्रहरी निरीक्षक केसीले बताए ।

कुटपिट गरेर श्रीमतीको हत्या गर्ने प्रतापसिंह ऐरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बुधबार नियन्त्रणमा लिएको र उनी माथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । ऐरीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Loading...