

कैलाली- विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडीमा सूचक प्रजाति गणना सुरु भएको छ । चरा संरक्षण सञ्जाल कैलालीको आयोजनामा गणना सुरु भएको हो । घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गर्ने सूचक प्रजातिका रूपमा जङ्गली धान, मगर गोही, र हरिहाँस छन् । चरा संरक्षण सञ्जाल कैलालीले विगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइ रहेको छ ।


घोडाघोडीमा सूचक प्रजाति गणना प्रत्येक वर्ष दुई पटक गरिन्छ । सोही अनुरूप यस पटक पनि सूचक प्रजाति गणना सुरु गरिएको चरा संरक्षण सञ्जाल कैलालीका कार्यवाहक अध्यक्ष नवराज न्यूरेले जानकारी दिए । न्यूरेका अनुसार सूचक प्रजातिको गणनाले उनीहरूको अवस्था र चुनौती पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायलाई संरक्षणमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।



गणनाको उद्घाटन गर्दै डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले घोडाघोडी क्षेत्रलाई संरक्षण गर्न सरोकारवालाको साझेदारीमा सचेतनामूलक लगायत विभिन्न कार्यक्रम गरिरहेको बताए । यहाँ रहेका सूचक प्रजातिको संरक्षण गर्दै उनीहरूको सङ्ख्या बढाउन सबै एकजुट हुनु पर्ने बताउँदै उनले भने, हामीले प्रदेश सरकारसँग घोडाघोडी क्षेत्रका सवाल सम्बोधन गर्न विभिन्न कार्यक्रम प्रस्ताव गरी बजेट माग गरेका छौँ ।
नेपालमै सबै भन्दा धेरै तालतलैया भएको जिल्लाका रुपमा कैलाली चिनिन्छ । त्यस मध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबै भन्दा ठूलो प्राकृतिक ताल हुन । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडी सहित २४ वटा ताल छन । जस मध्ये घोडाघोडी र नकरोड ताल चराको बासस्थानका लागि सबै भन्दा उपयुक्त रहेको सञ्जालका अध्यक्ष दयाराम चौधरीले बताए ।
घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्वपूर्ण बासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ८१ प्रजातिका चरा पाइन्छन् । घोडाघोडीमा बर्खा र हिउँदमा सूचक प्रजाति गणना गरिँदै आएको छ । यसपटकको बर्खे सूचक प्रजाति गणनामा सञ्जालका कार्यवाहक अध्यक्ष नवराज न्यूरे, सचिव राम कुमार चौधरी र जमुना न्यूरेको नेतृत्वमा तीन वटा समूह खटिएको छ ।





