कैलालीमा दलहन बाली उत्पादनमा वृद्धि

कैलाली- कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहन बाली उत्पादनमा वृद्धि भएको छ ।  कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार गत वर्ष ९ हजार ५ सय ४ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएकामा ८ हजार ७ सय ७० मेट्रिकटन दलहन बाली उत्पादन भएको थियो ।

केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले यस वर्ष ९ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएकामा १० हजार ५ सय २० मेट्रिकटन  उत्पादन भएको बताए । 

गत वर्षको तुलनामा यस वर्ष १ हजार ७ सय २१ मेट्रिकटन बढी दलहन बाली उत्पादन भएको उनले बताए । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको भन्दा यस वर्ष १६ हेक्टर बढी क्षेत्रफलमा दलहन खेती गरिएको हो । जिल्लामा यस वर्ष मसुरो एकल बाली ४ हजार १ सय १२ र मसुरो घुसुवा बाली ५ हजार ६० गरी कूल ९ हजार १ सय ७२ हेक्टर क्षेत्रफलमा मसुरो खेती गरिएको जनाइएको छ ।

गत वर्ष ९ हजार १ सय ६२ हेक्टरमा मसुरो खेती गरिएको थियो । कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार कैलालीमा यस वर्ष मसुरो एकल बाली ४ हजार १ सय १२ हेक्टरमा ५ हजार १ सय ४० मेट्रिकटन, मसुरो घुसुवा बाली ५ हजार ६० हेक्टर क्षेत्रफलमा ३ हजार १ सय ८८ मेट्रिकटन गरी कूल ८ हजार ३ सय २६ मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष मसुरो एकल बाली ४ हजार १ सय १२ हेक्टरमा ३ हजार ८ सय ८० मेट्रिकटन, मसुरो घुसुवा बाली ५ हजार ५० हेक्टर क्षेत्रफलमा २ हजार ८ सय ७८ मेट्रिकटन गरी ६ हजार ७ सय ५८ मेट्रिकटन उत्पादन भएको थियो ।

यस वर्ष बोडी ९२, चना १ सय ३२ र केराउ २ सय १६ गरी ४ सय ४० हेक्टरमा २ हजार २ सय २७ मेट्रिकटन दलहन उत्पादन भएको छ । गत वर्षको भन्दा यस वर्ष दलहन बालीका लागि आवश्यक पर्ने हावापानीको अनुकूल समय रहेकाले उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

Loading...