धनगढी- दशक अगाडि मैदान पहिचान भएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न लागिएको छ । नेपाल सरकारले पूर्वाधार विकास निर्माण समिति गठन गरेर त्यस मार्फत काम अगाडि बढाउने निर्णय गरेपछि चालु आर्थिक वर्ष भित्रै डीपीआर बनाउन लागिएको हो ।

डीपीआर निर्माणका लागि टेन्डर स्वीकृत भएर काम अगाडि बढाउने तयारी भइरहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिए । यसैगरी, वातावरणीय प्रभाव मूल्याङ्कनका लागि पनि ठेक्का भइसकेको उनले बताए ।
अध्यक्ष शाहीका अनुसार चालु आर्थिक वर्षभित्रै डीपीआर निर्माणको काम सम्पन्न गरेर आगामी आर्थिक वर्षबाट रङ्गशाला निर्माणको काम अगाडि बढाउने लक्ष्य छ ।“ नेपाल सरकारबाट जग्गा प्राप्ति, पूर्वाधार निर्माण विकास समिति गठनपछि डीपीआर निर्माणको प्रक्रिया अगाडि बढेको छ”, उनले भने, “आउने आर्थिक वर्षबाट संरचना निर्माणको काम अगाडि बढाउँछौँ ।”
चालु आर्थिक वर्षमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेल ग्रामको डीपीआर मात्रै निर्माणका लागि सरकारले एक करोड बजेट समितिलाई दिएको थियो । बजेट अनुसारको काम भइरहेको भन्दै अध्यक्ष शाहीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणका लागि स्रोत सुनिश्चितताको काम भइसकेको उल्लेख गरे। “तीन तहकै सरकारको सहभागितामा विकास समितिको गठनादेश अनुसार निर्माणको काम अगाडि बढ्ने छ”, उनले भने, “फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम सञ्चालन कुन मोडेलमा गर्ने भन्ने कुराको निर्णय पनि समितिले नै गर्नेछ ।”