धनगढी- कञ्चनपुरमा महेन्द्र राजमार्गमा पर्ने संरचनाहरू खाली गरिदैछ । जिल्लाको शुक्लाफाँटा नगरपालिका क्षेत्रको राजमार्गमा पर्ने संरचनाहरू हटाउन थालिएको हो ।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख हरि सुवेदीका अनुसार महेन्द्र ( पूर्व–पश्चिम) राजमार्गको २५ मिटर दायाँ र २५ मिटर बायाँका भौतिक संरचनाहरू खाली गर्न थालिएको हो । शुक्लाफाटा नगरपालिका सँगको समन्वयमा सडक क्षेत्रमा निर्माण गरिएका निजी संरचना भत्काउन डोजरको प्रयोग गरिएको हो ।
सुवेदीका अनुसार कञ्चनपुर र कैलालीको विभिन्न क्षेत्रमा सडकको क्षेत्राधिकार भित्र निजी भौतिक संरचनाहरू निर्माण गरिएका छन् । नागरिकले सडकमा भौतिक संरचना निर्माण गरेर बसोबास तथा व्यापार गर्दै आएका हुन् ।
सडक क्षेत्रमा रहेका भौतिक संरचना खाली गर्न सडक डिभिजन कार्यालय, महेन्द्रनगरले सूचना सार्वजनिक गर्दै आएको थियो । तर, निजी भौतिक संरचनाहरू खाली नभएपछि स्थानीय तहहरूको समन्वयमा डोजर प्रयोग गरेर खाली गर्ने काम हुँदै आएको छ ।