काठमाडौं- भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए) ले २९३ सिट जितेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जितेको छ ।
भाजपा एक्लैले बहुमत हासिल गर्न भने असफल भएको छ । भाजपाले मात्रै जितेको सिट संख्या २४० छ । सन् २०१९ मा भाजपा एक्लै ३०३ सिटका साथ बहुमत हासिल गरेको थियो । सन् २०१९ मा ५२ सिटमा सीमित भएको कांग्रेस एक्लैले ९९ सिट जितेको छ । समाजवादी पार्टी (सपा)ले ३७ सिट जितेका छन् । त्रिणमुल कांग्रेस (टीएमसी) ले २९ सिट जितेको छ ।
बहुमतका लागि २७२ सिट जित्नुपर्ने भए पनि कुनै पनि दलले एकल बहुमत हासिल गर्न सकेनन् । यद्यपि भाजपा सबैभन्दा ठूलो दल बनेकाले उसैको नेतृत्वमा गठबन्धन सरकार बन्ने छ । सरकारको नेतृत्व भने भाजपाका नेता नरेन्द्र मोदीले नै गर्ने छन् ।