अत्तरियाका वामपन्थी नेता पाण्डेले ७ दिनमै गरे काजकिरिया सम्पन्न

अत्तरिया-  हिन्दु परम्परा अनुसार १३ दिनमा सकिनुपर्ने काजकिरिया अत्तरियाका एक वामपन्थी नेताले ७ दिनमै सम्पन्न गरेका छन् । कैलालीको गोदावरी नगरपालिका १ बनखेतमा बसोबास भएका राष्ट्रिय जनमोर्चाका केन्द्रीय परिषद् सदस्य तथा सुदूरपश्चिम उपाध्यक्ष हरिकृष्ण पाण्डेले आफ्नो काकाको काज किरिया ७ दिनमा सामान्य किसिमबाट सम्पन्न गरेका हुन् ।

१६ गते (बुधबार) निधन भएका उनका काकाको मंगलबार ७ दिने काज किरिया सामान्य एवं प्रगतिशील तरिकाले श्रद्धाञ्जली सभा राखेर सम्पन्न भएको थियो । वामपन्थी नेता पाण्डेले न कपाल काटे, न किरियाका लागी अलग्गै बसे, न सेता लुगा, न त कुनै पिण्डको व्यवस्था । उनी सधैँ लगाइरहने पहिरनमा बसे । काजकिरिया समापनका दिन मंगलबार उनले आफ्नै घरमा आफन्तजन र नेताहरूलाई बोलाएर श्रद्धाञ्जली सभामा एक औपचारिक कार्यक्रम आयोजना गरी काज किरिया सम्पन्न गरेका छन् ।

उनले काकाको मात्रै हैन केही समय अगाडि स्वर्गवास भएकी आफ्नी आमाको समेत यस्तै काज किरिया सामान्य एवं प्रगतिशील तरिकाले सम्पन्न गरेको बताए । उनले आफूले यसरी सामान्य एवं प्रगतिशील तरिकाले कार्यहरू गरिरहँदा समाजमा रहेका केही छिमेकी र आफन्तहरू पनि भेट्न नआएको गुनासो गरे ।

वामपन्थी नेता पाण्डेले काज किरियामा लाग्ने खर्च गोदावरी नगरपालिका–२ मा रहेको अपाङ्गता बालबालिका अध्ययनरत सुप समावेशी आधारभूत विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

काकाको मंगलबार ७ दिने काज किरिया श्रद्धाञ्जली सभा राखेर सम्पन्न भएको कार्यक्रम मार्फत छात्रवृत्ति कोषका लागि ५० हजारको चेक विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदलाई हस्तान्तरण गरेका छन् । पाण्डेका काका पनि अशक्त भएका कारण अपाङ्गता बालबालिका अध्ययनरत विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गरी सहयोग गरिएको बताइएको छ।  खानेपानीमा आबद्ध पाण्डेकी श्रीमती कुन्ती पाण्डेले पनि तालिम लगायतका बिभिन्न कार्यक्रमहरूबाट पाएको भत्ता स्कुललाई सहयोग गरेकी छन् ।

त्यस्तै वामपन्थी नेता हरिकृष्ण पाण्डे र कुन्ती पाण्डेले यस अघि आफ्ना छोरा छोरीको बिहे पनि एउटा औपचारिक कार्यक्रमको आयोजना गरि सामान्य एवं प्रगतिशील तरिकाले बिहे गरेका थिए । छोराको बिहेमा नेता पाण्डेयले त्यति बेला पनि विवाहको खर्च सुप माविको लागी छात्रवृत्ति कोषको स्थापना गर्ने गरी ५० हजार चेक हस्तान्तरण गरेका थिए ।

वामपन्थी नेता हरिकृष्ण पाण्डे र कुन्ती पाण्डेको पनि यसरी नै प्रगतिशील बिहे भएको थियो । वामपन्थी नेता पाण्डेका ससुरा डोटीका पुराना कम्युनिस्ट नेता डिल्लीराज भट्ट हाल गण्डकी प्रदेशका प्रदेश प्रमुख छन् ।

Loading...