सुदूरपश्चिमका ८७ स्थानीय तहमा बैंक विस्तार

धनगढी- सुदूरपश्चिम प्रदेशका कुल ८८ स्थानीय तहमध्ये ८७ स्थानीय तहहरूमा बैंक तथा वित्तीय संस्था विस्तार भइसकेको छ । बझाङको विकट स्थानीय तह साइपाल गाउँपालिकामा भने बैंक स्थापना हुन नसकेको हो ।

सो गाउँपालिकामा बैंक शाखा विस्तार गर्ने बजेट मार्फत सरकारले घोषणा गरेको छ । साइपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा विस्तार गर्ने अन्तिम तयारी गरेको हो । त्यसका लागि बैंकले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेकोे बैंकका बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले बताए । छिट्टै शाखा विस्तार गर्न सकेमा साइपालमा बैंक शाखा विस्तार गर्ने एभरेष्ट नै पहिलो बैंक हुनेछ ।

Navadurga sun

राष्ट्र बैंकले २०७४ सालमै साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएको थियो । सडक, सञ्चार, सुरक्षा लगायतका पूर्वाधार स्थानीय स्तरसम्म उपलब्ध नभए सम्म त्यहाँ शाखा स्थापना गर्न नसक्ने भन्दै एभरेष्टले शाखा खोलेको थिएन । अब भने पूर्वाधार विस्तार हुँदै जाँदा बैंकले शाखा विस्तारका लागि सक्रियता बढाएको हो। आगामी आर्थिक वर्षको बजेटमा सरकारले साइपालमा बैंक शाखा पुगाउने घोषणा गरेको छ ।

साइपाल बाहेक सबै स्थानीय तहमा बैंक शाखा पुगिसकेको छ । यस पटकको बजेटमा सरकारले साइपालमा बैंक शाखा विस्तार गर्ने योजना सार्वजनिक गरेकाले अब बैंक पुग्ने अपेक्षा गरिएको साइपाल गाउँपालिका प्रमुख मानविर बोहराले बताए । संघीयता लागु भएपछि हरेक पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगे पनि साइपाल गाउँपालिकामा पुगेको थिएन ।

आफ्नो पालिकामा बैंकको शाखा नहुँदा साइपालबासी करिब चार दिन पैदल यात्रा गर्दै सदरमुकाम चैनपुर पुगेर कारोबार गर्न बाध्य छन् । साइपाल गाउँपालिकाका प्रतिनिधिले यसअघि आफ्नो गाउँपालिकामा शाखा विस्तार गर्न बैंकहरूलाई आग्रह गर्दै आए पनि सफल भइसकेको थिएन ।

बैंक स्थापना गर्न सकिने–नसकिनेबारे स्थलगत अध्ययन गर्न राष्ट्र बैंकका निर्देशक सत्येन्द्र तिमिल्सिनाको नेतृत्वमा उपनिर्देशक टीकाराम तिमिल्सिना, सहनिर्देशक उत्तम गौनी, एभरेष्ट बैंकका उपमहाप्रबन्धक शर्मा र एभरेष्ट बैंककै बझाङ शाखा प्रमुख कुमार थिङ सहितको टोली साइपाल गाउँपालिकाको केन्द्र काँडासम्म पुगेको थियो । सो टोलीले साइपालमा बैंक स्थापना गर्न सम्भव भएको निष्कर्ष निकालेपछि यसतर्फ काम अगाडि बढाइएको हो ।

अहिले बैंकले साइपालमा शाखाका लागि आवश्यक पूर्वाधार बनाउन सामान लैजान सुरु गरिसकेको छ । एक साता अघि गभर्नर महाप्रसाद अधिकारीले पनि अब छिट्टै साइपालमा बैंकको शाखा विस्तार हुने बताएका थिए । त्यसपछि एभरेष्ट बैंकले साइपालमा बैंक विस्तारका लागि सक्रियता देखाएको छ । केही समयमै साइपालमा एभरेष्टको बैंक पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख बोहराले बताए ।

एभरेष्ट बैंकका उपमहाप्रबन्धक शर्माले शाखा विस्तारका लागि साइपालमा स्थलगत अवलोकन समेत गरिसकेको र अहिले आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा रहेको बताए । साइपालमा अहिले पुराना घरहरू रूपान्तरण भएर नयाँ पक्की घर बन्ने क्रममा छन् । इन्टरनेटको पनि पहुँच पुगेकाले शाखा विस्तार गर्न पूर्वाधारहरू तयार भइरहेको उनले बताए ।

अहिले सरकारी कारोबार स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेको उनले बताए । अब स्वीकृति प्राप्त भइसकेपछि शाखा विस्तारको कामले मूर्त रूप पाउने उनको भनाइ छ । साइपाल गाउँपालिका कार्यालय वडा नम्बर ३ मा छ । बैंकको शाखा कार्यालय वडा नम्बर १ मा राख्ने तयारी भइरहेको अध्यक्ष बोहराले बताए । तीन हजारभन्दा बढी नागरिक साइपाल गाउँपालिकामा बसोबास गर्छन् । उनीहरूमध्ये करिब ७ सयले मात्रै विभिन्न कामको सिलसिलामा बैंक खाता खोलेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...