धनगढीमा सुरु भयो इन्डो–नेपाल कराँते प्रतियोगिता

धनगढी- कैलालीको धनगढीमा विहीबारबाट मुख्यमन्त्री १० औं इन्डो–नेपाल कराँते प्रतियोगिता सुरू भएको छ। नेपाल र भारतका ४ सय बढी खेलाडीहरूको सहभागितामा दुई दिने प्रतियोगिताको मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले उद्घाटन गरे । दक्षिण भारत, हरियाणा, दिल्ली, पंजाव, उत्तराखण्ड, विहार लगायतका ठाउँबाट एक सय बढी विदेशी खेलाडी प्रतियोगिता खेल्न धनगढी पुगेका छन् । नेपालका ३ सय ८६ जना खेलाडी सहभागी छन् ।

क्याडेड, जुनियर र सिनियर तर्फका खेलहरू खेलाइने आयोजक राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले जनाएको छ । संघका प्रकाश चन्दले कोभिडका कारण ४ वर्ष देखि रोकिएको १० औं संस्करण अहिले भएको बताए । यस प्रतियोगिताको पहिलो संस्करण २०६२ सालमा धनगढीमा भएको थियो । चन्दले यो प्रतियोगिताबाट उदाएका खेलाडीहरू राष्ट्रिय पदक विजेता सम्म भएको बताए । जुनियर खेलाडीलाई सिनियरको खेल हेरेर सिक्ने मौका मिल्ने उनले बताए ।

विदेशी खेलाडी संगको प्रतिष्पर्धाले आत्मबल बढ्ने प्रशिक्षक अर्जुन सिंहको भनाई छ । ‘फरक– फरक ठाउँमा फरक तरिकाले खेलिन्छ, उनीहरूका तरिका सिक्न पाइन्छ,’ उनले भने । उनका चार जना प्रशिक्षार्थी ३० र ५० केजी समुहमा फाइट गर्ने छन् ।

भारतको पञ्जाबबाट आएका छोरीलाई ल्याएर आएका पूर्व भारतीय सैनिक बलदेव सिंहले यो प्रतियोगितामा आफ्नो छोरीलाई सहभागि गराउन पाउँदा खुसी लागेको बताए । उनकी छोरी ३० केजी समुहमा फाइट गर्दैछिन् । उनकी छोरी देवेन्द्र संग स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म खेलेको अनुभव छ । पहिलो पटक अन्तराष्ट्रिय खेल्न उनी नेपाल आएकी हुन् ।
प्रतियोगिताका लागि एक सय बढी अफिसियल र रेफ्रीहरू धनगढी आएका छन् ।

Loading...