अत्तरिया- नेपाल कम्युनिस्ट पार्टी एमालेको कैलालीको गोदावरी नगरपालिकाको दोस्रो नगर अधिवेशन सुरु भएको छ । अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसको हलमा “दक्षिणपन्थी, अवसरवाद, संगठनात्मक अराजकतालाई परास्त पारौ । जबजको मार्ग दर्शनमा समाजवादको आधार निर्माण गरौँ ॥” भन्ने मूल नाराका साथ नेकपा एमाले गोदावरी नगरको दोस्रो नगर अधिवेशन शुरु भएको हो । मंगलबार एक कार्यक्रमका बिच नेकपा एमालेका केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले दीप प्रज्वलन गर्दै उद्घाटन गरेका हुन् ।
उक्त उद्घाटन सत्रको कार्यक्रम नगर कमिटी कार्यवाहक अध्यक्ष सन्तोष सिंहको उपाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट रहेका थिए । त्यस्तै विशिष्ट अतिथि पार्टी पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश सिंह ठगुन्ना रहेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य सन्तोष शर्मा थापा, नेकपा एमाले सुप प्रदेश सचिव रण बहादुर चन्द, प्रदेश सचिवालय सदस्य गोकर्ण भट्ट, प्रदेश कमिटी सदस्यहरू, नेकपा एमाले कैलाली जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुंगाना, जिल्ला कमिटी सदस्यहरू, गोदावरी नगर उप-प्रमुख शारदा देवी रोकाया, अन्य नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि रहनु भएका भट्टले पहिले व्यवस्थित पार्टीको रुपमा चिनिएको हाम्रो नेकपा एमाले किन यसपालि पछि पर्यो भनेर आँकलन गर्न मिसन ग्रासरूट सञ्चालन गर्यौ र त्यसको समीक्षाले के बतायो भने पार्टीको आन्तरिक विवादका कारण पार्टी पछि परेको ठहरियो, आन्तरिक विवाद भित्रै नसुल्झाएर बाहिर तमासा बनाउने प्रवृत्ति र अनुशासन भंग भएका कारण समस्या उत्पन्न भएको निष्कर्ष निस्कियो, त्यस कारण पार्टी भित्र मःम भन्ने प्रवृत्ति छोडेर पार्टीको सिद्धान्त अनुसार अघि बढ्नुपर्ने बताए ।
‘सकेसम्म उच्च लोकतान्त्रिक विधि अपनाई सर्वसम्मतिमा नेतृत्व चयन होस निर्वाचन नै गर्नु परे पनि सम्पूर्णले लोकतान्त्रिक निर्वाचन पद्धति अपनाई रिसराग नराखी सहर्ष परिणाम स्वीकार गर्नुपर्ने र आफ्ना कमीकमजोरीलाई भविष्यमा सुधारेर लग्नुपर्ने हुन्छ ।’ उनले भने, ‘हामीले आफ्नो विधि पद्धति बिर्सनु भएन, आफ्ना कुरा राख्दा पनि अराजक व्यवहार नदेखाउ, पार्टी फुट्दा के असर हुन्छ बुझ्नु जरुरी छ ।’
कार्यक्रममा अन्य वक्ताहरूले गणतन्त्र ल्याउन वीर सहिदहरूले दिएको बलिदानको उचित फल दिन जरुरी रहेको जसका लागि नेकपा एमालेको सरकार अपरिहार्य रहेको बताएका हुन् । हामीमा त्याग निष्ठा र समर्पणको कमी रहेको कारण समाजवाद हासिल गर्न सक्दैनौ, पार्टी भित्र एकता भए मात्र मिसन २०८४ सफल पार्न सकिनेछ, पद प्राप्ति ठुलो कुरा होइन तर आजभोली कार्यकर्ता पद प्राप्तिको पछाडि मात्र तत्पर छन्, २०८४ मा वडा देखी केन्द्र सम्म नेकपा एमालेको एकल बहुमतको सरकारको जरुरत छ त्यसका निम्ति सम्पूर्ण स्थानीय तह देखी नै नेतृत्व वर्ग बलियो हुनुपर्ने लगायतका कुराहरू राखेका थिए ।