अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वार्ड नं १ को ८ औं वडा भेला सोमबार वडा कार्यालयको प्राङ्गणमा भव्यता साथ सम्पन्न भएको छ ।
नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख शारदा देवी रोकाया र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट रहेको उक्त भेलाको अध्यक्षता वडा नम्बर १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट रहनु भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडावासीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि भट्टले नगरपरिषद् नगरपालिकाको वडा भेलाहरु भईसकेपछि चल्नेछ । नगर परिषदको नगरसभामा सबै गतिविधिहरू प्रस्तुत गर्नेछौँ । पूर्व स्थानीय सरकारले छाडा चौपायाको क्षेत्रमा ८ करोड खर्च गरिसकेको छ । तर कुनै उपलब्धि भएको छैन । बिना योजनाको खर्चको कुनै महत्व हुँदैन प्रदेश र संघीय सरकारले बजेट छैन भनेपछि स्थानीय सरकार मारमा पर्छ । स्थानीय सरकारहरूको तुलना एउटै हुँदैन । कसैको कम बजेट हुन्छ कसैको बजेट बढी हुने बताए । अझै पनि गोदावरी नगरपालिकामा बिजुली बत्ती नपुगेका स्थानहरू छन् ।
विकास कार्य गर्न जनताहरुले पनि सहयोग गर्नुपर्छ । विकास गर्ने जिम्मेवारी सबै जनाको हो । हाम्रो नगर क्षेत्र भित्र के कति सुकुम्बासीहरू छन् भूमिहीनको अभिलेख राख्ने कार्य गरेर उचित समयमा सबैले लालपुर्जा पाउनेछन् भन्ने आशामा छु । उनले भने, ‘शिक्षामा पनि नगरपालिकाले सहयोग गरेकै छ । १४३ नगर शिक्षकहरू भएको र उनीहरूले नगरपालिकाको अनुदान तलब खाइरहेका छन् ।
आर्यघाट व्यवस्थापनको लागि पनि कार्यहरू गर्नुपर्ने हुँदा यसको लागि गरिरहेका छौं । व्यवसायीहरू करको दायरामा आएका छैनन् । फोहोर महिला व्यवस्थापनको लागि ८० करोडको रकम ल्याएका छौँ । त्यसैले यो पनि राम्रो पक्ष हो ।’ मेडिकल कलेज ६०० सैया सम्म बनाउनुको लागि सबैले दबाब दिनु पर्ने देखिन्छ तीन कट्टा सम्म घरबास निःशुल्क र अरुको जमिनको लागि पनि व्यवस्था गर्नेछौं ।

कार्यक्रममा बोल्दै शारदा देवी रोकायाले कर बढाउनु नपर्ने तर करको दायरा बढाउनुपर्ने ९० प्रतिशतले आफ्ना पसल तथा व्यवसाय दर्ता गरेका छैनन् । बजारमा अनुगमन गरी एउटा निचोडमा जानेछौ सबैले करको दायरामा आउनुपर्छ व्यवसाय तथा पसलहरू नवीकरण गर्ने समस्या पनि यथावत छ । सबैले साथ दिइ नगरपालिकाको बजेट बढाउनु पर्ने देखिन्छ । बदनाम गल्ली मा महिलाहरू ल्याएर यौन कार्य गर्नेहरूको समस्या यथावत छ ।
यसलाई पनि हामीहरुले समाधान गर्नुपर्ने देखिन्छ । गौसलाको लागि भनेर छाडा चौपाया व्यवस्थापनको लागि पनि बजेट आउनेछ । नगर उपप्रमुखको हैसियतले मैले गर्नु पर्ने सेवा को लागि सदैव तयार रहनेछु । तपाईंको सहयोग सल्लाह र सुझावको अपेक्षा राखेको बताइन ।
अध्यक्ष गोपाल दत्त भट्टले आर्थिक मन्दीको बेलामा गोदावरी नगरपालिकाको बजेट अनुसार विकास भएकै छ । वडा नम्बर १ मा पनि हामीहरुले बजेटले भ्याए सम्म विकास गरेकै छौं । सबैले मलाई भेटेर आफ्ना सुझाव सल्लाह विमतिहरू राख्नुहोला म सधैँ तपाईंको साथमा रहने बताएका हुन् ।
कार्यक्रममा स्वागत मन्तव्य वडा नं. १ वडा सदस्य गम्भीर साउदले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन कुन्ता भण्डारीले गरेकी थिइन ।
गोदावरी १ को बजेट ८३ लाख १७ हजार
कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ ले आर्थीक बर्ष २०८१/८२ को योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडा कार्यालयमा आयोजित ८ औं वडा भेलामा वडा अध्यक्ष गोपाल दत्त भट्टले वडाका योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।
नगरले पठाएको सिलिङ अनुसार नै वडाको बजेट सार्वजनिक गरिएको वडा अध्यक्ष भट्टले बताए । जस अनुसार वडा नम्बर १ ले समानिकरण बजेट ६० लाख र सुत्रमा आधारीत बजेट २३ लाख १७ हजार ८ सय ७ गरी जम्मा ८३ लाख १७ हजार ८ सय ७ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको छ ।
गत वर्ष १ करोड १० लाख ३९ हजार ४ सय ८३ रुपैयाँको बजेट सार्वजनिक गरेको वडा नम्बर १ ले यस वर्ष झन्डै २७ लाख घटाएर सार्वजनिक गरेको हो । नगरमा संघ र प्रदेशबाट आउने बजेट सिलिङ नै घटेर आएकोले वडाको बजेट पनि घटेको वडाले जनाएको छ । त्यस्तै चालु आर्थिक वर्षको वैशाख सम्म वडा नम्बर १ ले ६२ लाख ५४ हजार १ सय ४३ रुपैयाँ राजस्व उठाएको छ ।