धनगढी- सुदूरपश्चिम प्रदेश सरकार गठनको एक महिना बिते पनि मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत पाएको एक साता बित्दा पनि प्रदेश सरकार मन्त्रपरिषद् विस्तार हुन सकेको छैन । विश्वासको मत प्राप्तिपछि पनि सरकार विस्तार तथा मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रदेश सरकारको नियमित कामकारवाही तथा नीतिगत निर्णयमा समस्या देखिएको छ । मुख्यमन्त्री सोडारीलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य मध्ये दुई ले र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यको नाम नआएका कारण मन्त्रिपरिषद् गठनमा ढिलाइ भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । नेकपा (एकीकृत समाजवादी) का सोडारीलाई मुख्यमन्त्री बनाउन साथ दिएका दलहरू मध्ये नागरिक उन्मुक्ति पार्टीबाट यस अघि नै दुई जना मन्त्री नियुक्त भइसकेका छन् । मुख्यमन्त्री सोडारीले आफूले शपथ ग्रहण लगत्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए । त्यसको केही समयपछि पहिलो पटक मन्त्रपरिषद् विस्तार गर्दै नागरिक उन्मुक्ति पार्टीकै टीका थापालाई भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनाएका हुन् ।
मुख्यमन्त्रीलाई साथ दिएका दुई ठूला दलबाट भने सरकारमा सहभागी हुनेको नाम टुङ्गो लागिसकेको छैन । मन्त्रिपरिषद्मा सहभागी हुनेहरूको नाम एमाले र माओवादीको संसदीय दलले नपठाएका कारण मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको एकीकृत समाजवादीका प्रदेश सभा सदस्य प्रकाश रावलले बताए । “मन्त्रपरिषद् विस्तार हुन नसक्नु मुख्यमन्त्रीको कारणले होइन,” उनले भने, “मुख्यमन्त्रीलाई समर्थन गरेका एमाले र माओवादी केन्द्रले नाम पठाउन नसकेका कारण ढिला भइरहेको छ ।” एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने कुराकै निर्क्योल हुन नसकेको रावलको भनाइ छ । मुख्यमन्त्रीलाई समर्थन गर्ने प्रमुख दल एमालेले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा सहभागिता नजनाउने निर्णय गरेको छ ।
सो पार्टीको संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने निर्णय यस अघि नै गरेको थियो तर पनि एमाले सरकारमा सहभागी हुने एकीकृत समाजवादीका नेता रावलको विश्वास छ । “उहाँहरू बिच आपसमा कुरा नमिलेर त्यस्तो निर्णय भएको हो कि भन्ने मलाई लागेको छ, उनले भने, जहाँसम्म एमाले सरकारमा आउँछ भन्ने विश्वास छ ।” यसै गरी मुख्यमन्त्रीलाई समर्थन गर्नु भएका स्वतन्त्र प्रदेश सभा सदस्य ताराप्रसाद जोशीको हकमा पनि सहमति हुन बाँकी रहेको जनाइएको छ । जोशीलाई पनि कुनै मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको बताइएको छ ।
तत्कालीन मुख्यमन्त्री नेपाली कांग्रेसका कमलबहादुर शाहले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम वैशाख ६ गते समाजवादीका नेता सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए ।