धनगढीमा प्रादेशिक बालग्राम स्थापनको लागि १० करोड माग

धनगढी- नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापनाका लागी बजेट माग गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुडामणि भट्टले ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा बालग्राम स्थापनको आवश्यकता महसुस भएको र त्यसका लागि बजेट अभाव देखिएको बताएका छन् ।

स्थापना काल देखी नै अनाथ तथा असहाय बालबालिकालाई हेरचाह गर्दै आएको धनगढी बाल संरक्षण गृहमा अहिले २० जना बालकहरू रहेका छन् । उनीहरु नजिकैको त्रिनगर विद्यालयमा अध्ययन गरिरहेका छन् । अझै पनि अभिभावक विहीन धेरै बालकहरू सडकमा भौतारिरहेको र सानैमा अभिभावक गुमाएकाहरूलाई शिक्षा स्वास्थ्य पाउन पनि सकस भएको भन्दै अझै धेरै क्षमताको बालगृह स्थापनाको लक्ष्य लिइएको भट्टले मन्त्री चौधरीलाई जानकारी गराए । ज्ञापन पत्रमा पनि प्रदेश स्तरीय बालगृह स्थापनाको लागि १० करोड रुपैयाँ माग गरिएको छ ।

‘१ विगाह ४ कट्ठा दर्ता जमिन र ८ कट्ठा ऐलानी जग्गा सदुपयोग भइरहेको छ । प्रदेश स्तरीय बालग्रामको रुपमा अगाडि बढाउन खोजिरहेका छौँ मन्त्री चौधरीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, प्रदेश स्तरीय बालग्राम निर्माणको लागि १० करोड विनियोजन गर्न आग्रह गर्दछौँ । ’ धनगढी उपमहानगरले सटर भत्काएको हुँदा आम्दानीको स्रोत समेत बन्द भएको गुनासो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नियमित आय स्रोतको लागि तत्काल व्यवसायीक भवन निर्माण गर्ने र त्यसको लागि २ करोड माग गरिएको छ ।

नेपाल बाल सङ्गठनको ज्ञापन पत्र बुझ्दै मन्त्री चौधरीले समस्या समाधानको लागि आफ्नो पक्षबाट हुने सबै कामको लागि आफू तत्पर रहेको बताएकी थिइन् । उनले बालग्राममा बसेका बालबालिकाहरूलाई विशेष ध्यान दिन पनि आग्रह गरिन् । ‘मैले हिजो देखि यी विषय नियालिरहेको छु ’ उनले भनिन् ‘तपाइहरू पूर्ण बाल अधिकार सुनिश्चित गर्ने गरि लाग्नु होला सरकारको साथ तपाइहरूलाई रहन्छ । ’बालकहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि मन्त्री चौधरीले आग्रह गरेकी थिइन् । उनले अहिले पनि सडक बालबालिकाको विषयमा गम्भीर हुनु पर्ने अवस्था रहेको बताए ।

Loading...