धनगढीले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक प्रभावकारी बन्दै

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ प्रभावकारी बन्दै गएको छ ।

उपमहानगरले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा ल्याएको उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको हो । चालु आवको साउन देखि वैशाख सम्म ३९ हजार ४६ जना बिरामीले सेवा लिएका उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए उनका अनुसार सो अवधिमा ३० हजार २ सय ९७ महिला र ८ हजार ७ सय ४९ पुरुषले सेवा लिएका छन् ।

Navadurga sun

सो कार्यक्रमका लागि १ जना जनरल फिजिसियन, १ जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको अवस्थीले बताए । स्वास्थ्य शाखा प्रमुख अवस्थीका अनुसार २० हजार ४ सय ४४ जनाले जनरल फिजिसियनबाट, ७ हजार ५ सय ७२ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र ११ हजार ३० जनाले आँखा सम्बन्धी सेवा लिएका छन् ।

सो अवधिमा सेवा लिने मध्ये ५ हजार ८ सय ७३ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेको उनले बताए । ५ हजार ९ सय ३० जनाले निःशुल्क प्रयोगशाला जाँच, ५ हजार ८ सय ४८ गर्भवती सम्बन्धी लिएकामा २ हजार ५ सय ४४ ले निःशुल्क अल्ट्रासाउण्ड गराएका प्रमुख अवस्थीले जानकारी दिए । आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले गत आवको साउन देखि उक्त कार्यक्रम १९ वटै वडामा प्रत्येक महिना सञ्चालन हुँदै आएको उनकोे भनाइ छ ।

बिरामीको निःशुल्क जाँचका साथै औषधि पनि निःशुल्क दिने गरिएको छ, स्वास्थ्य शाखा प्रमुख अवस्थीले भन्नुभयो, ग्रामीण क्षेत्रका विपन्न नागरिकले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । ज्येष्ठ नागरिक, गर्भवती लगायत वर्गमा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको पाएका छौँ । आर्थिक वर्ष २०७९/०८० मा वडा स्वास्थ्य क्लिनिकबाट ३५ हजार ६ सय १९ महिला र १० हजार ७० पुरुष गरी ४५ हजार ६ सय ८९ जनाले सेवा लिएका उपमहानगर कार्यालयले जनाएको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...