धनगढीमा सञ्चालित शिविरले गाउँघरमै रोगको निदान

धनगढी- धनगढीमा सञ्चालित विशेषज्ञ वडा क्लिनिक र क्यान्सर स्क्रिनिङ शिविरले गाउँघरमै रोगको निदान र उपचार गर्न सहज भएको छ । हरेक महिना हुने विशेषज्ञ वडा क्लिनिकले गाउँघरमै सेवाग्राहीले उपचार गर्ने अवसर पाएका छन् ।

धनगढी उपमहानगरपालिकाले समय-समयमा क्यान्सर स्क्रिनिङ शिविर समेत राख्ने गरेको छ । क्यान्सर स्क्रिनिङ शिविरमा सहभागि सेवाग्राहीले धनगढी उपमहानगरले स्वास्थ्य सेवालाई प्राथमिकता दिएर सहज उपचारको व्यवस्था मिलाएको बताएका छन् । घाउँघरमै निःशुल्क विभिन्न स्वास्थ्य सेवा प्रदान गरिँदा रोग लुकाएर बस्नु पर्ने अवस्था हटेको धनगढी-१२ की आइती राईले बताइन् ।

धनगढी उपमहानगरपालिका र विपी कोइराला क्यान्सर अस्पताल भरतपुर, चितवनको आयोजनामा धनगढीमा शुक्रवार र शनिवार क्यान्सर स्क्रिनिङ शिविर सञ्चालन हुने भएको हो । धनगढी-१२ जुगेडामा शुक्रवार र वडा नम्बर ११ घोड्सुवामा शनिवार शिविर लाग्नेछ । शुक्रवार जुगेडामा लागेको क्यान्सर स्क्रिनिङ शिविरमा सर्वसाधारण सँगै महिला स्वास्थ्य स्वयंसेविका नन्दी खड्का पनि भेटिइन् । खड्काले घर आँगनमै स्वास्थ्य चेक जाँच गर्ने सेवा पाउँदा महिलाहरू खुसी रहेको बताएकी छिन् ।

यस्तै, शिविरमा आमालाई समेत लिएर आएकी स्थानीय सत्यदेवी स्नेहीले उपमहानगरपालिकाले स्वास्थ्य सेवामा ध्यान दिँदा रोगको निदान तथा उपचारमा सहयोग मिलेको टिप्पणी गरेकी छिन् । ‘वडा क्लिनिक र स्क्रिनिङ शिविरले पैसाको अभावले चेकजाँच गर्न नसक्नेहरूलाई सहयोग पुगेको छ’, उनले भनिन्, ‘धनगढीमा स्वास्थलाई प्राथमिकता राख्दा सबैलाई उपचार पाउन सहज भएको छ ।’

क्यान्सर स्क्रिनिङ शिविरमा भेटिएकी जुगेडाकै लक्ष्मी जोशीले पनि हरेक महिना लाग्ने विशेषज्ञ स्वास्थ्य शिविर र विभिन्न समयमा लाग्ने क्यान्सर स्क्रिनिङ शिविरले पैसाको अभावमा चेक जाँच गर्न सम्म नसक्नेलाई ठूलो सहयोग पुगेको बताइन् । स्वास्थ उपचारको व्यवस्था सहज बनाएकोमा स्थानीय भगवती रोकायाले खुसी व्यक्त गरेकी छिन् ।

Loading...