अत्तरियामा हुने सुदूरपश्चिम स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा

अत्तरिया- कैलालीकाे अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा यहि जेठ ११–१२ गते सम्पन्न हुने सुदूरपश्चिम स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको छ ।

‘पढौँ पढाऔँ निरन्तर शिक्षाका लागी पुस्तकालय जाऔँ, सबल समाजको आधार पुस्तकालयको विकास र विस्तार । एक स्थानीय तह एक नमुना पुस्तकालय हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेश स्तरीय सामुदायिक पुस्तकालय सम्मेलनको तयारी पूरा भएको हो । सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले गर्ने तय भएको छ ।

सम्मेलनलाई सफल पार्न विभिन्न उप समितिहरू गठन गरिएको छ । जसमा सांस्कृतिक संयोजक लिलाधर बाँस्कोटा, आवास तथा भोजनालय संयोजक धर्मसिं कुँवर, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन संयोजक कमला भट्टराई र प्रतिनिधि व्यवस्थापन तथा समन्वय संयोजक भुपेस जोशीलाई जिम्मेवारी प्रदान गरिएको पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले जानकारी दिए ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला मध्ये पहाडी जिल्ला बाट १–१ जना र कैलाली कञ्चनपुरका सामुदायिक पुस्तकालय बाट २–२ जना ब्यक्तिको प्रतिनिधित्व रहने गरि प्रदेश भित्रका ३० वटा सामुदायिक पुस्तकालयहरूको प्रतिनिधित्व हुनेछ ।

उक्त सम्मेलनलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाल सामुदायिक पुस्तकालय संघ र रिड नेपालको समन्वय/सहकार्यमा हुन लागेको कार्यसमिति सदस्य तथा प्रतिनिधि व्यवस्थापन उप–समिति सदस्य हेमन्त राज जोशी (बाजे) ले जानकारी दिए ।

Loading...