
बैतडी- कुटपिटबाट बैतडीमा एक महिला घाइते भएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ३२ वर्षीया डम्मरा कार्की छिमेकीको कुटाइबाट घाइते भएकी हुन् । सोही स्थानकी २८ वर्षीया अस्मिता चन्दले कुटपिट गरी कार्कीलाई घाइते बनाएकी हुन् । सामान्य घरायसी विवादमा चन्दले शनिबार कार्कीलाई दाउराले हिर्काएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।
घाइते कार्कीको घाँटी र टाउकोमा चोट लागेको छ । जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि कार्कीलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको र उनको डडेल्धुरामा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । दुवै पक्षलाई बोलाएर घटनाका विषयमा जानकारी लिने काम भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।