कैलाली- कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा ५ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भन्सार कार्यालयले चालु आव २०८०/०८१ को साउन देखि चैत मसान्त सम्म उक्त राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले सो अवधिमा भन्सार महसुल तर्फ २ अर्ब १८ करोड ८४ लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर तर्फ २ अर्ब ३३ करोड १ लाख रुपैयाँ, अन्त शुल्क तर्फ १५ करोड ६ लाख रुपैयाँ र अन्य तर्फ १ अर्ब ६ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले जानकारी दिए ।
कार्यालयले चालु आवका नौ महिनामा ८ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६६ दशमलव ९४ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको उनले जानकारी दिए । “पूँजीगत खर्च कम छ, विकास निर्माणका काम बढेका छैनन्, जसले गर्दा आयात घटेको छ”, उनले भने, “बढी राजस्व सङ्कलन हुने वस्तुको आयातमा कमी छ, यसले राजस्व सङ्कलन प्रभावित भएको छ ।”
उनका अनुसार चालु आवको साउनमा ४६ करोड ८२ लाख रुपैयाँ, भदौमा ५१ करोड ९३ लाख रुपैयाँ, असोजमा ६३ करोड १४ लाख रुपैयाँ, कात्तिकमा ६१ करोड ४६ लाख रुपैयाँ र मङ्सिरमा ७३ करोड ३४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा ६८ करोड ९० लाख रुपैयाँ, माघमा ६६ करोड ६७ लाख रुपैयाँ, फागुनमा ६९ करोड १ लाख रुपैयाँ र चैतमा ७२ करोड १३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
चालु आवमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य छ । चालु आवका नौ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ४९ दशमलव ५१ प्रतिशत रहेको सूचना अधिकारी खड्काले जानकारी दिए । गत आ.व. मा २०७९/०८० मा १२ अर्ब ३० करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ८ अर्ब २९ करोड ६३ लाख रुपैयाँ राजस्व भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।